भिजिट भिसामा विदेश जान झन् सजिलो तर, निर्धारित समयमा नफर्किए कारबाही नहुने

नेपालभ्युज

भिजिट भिसामा विदेश जान झन् सजिलो तर, निर्धारित समयमा नफर्किए कारबाही नहुने
फाइल तस्वीर

काठमाडौं । भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीलाई सहजीकरण गर्दै अध्यागमन विभागले मंगलबार जारी गरेको ट्राभल एड्भाइजरी अनुसार विदेश जान विगतको भन्दा खुकुलो छ । तर, सरकारले अन्य काम नगर्न भन्दै तोकिएको समयमा स्वदेश फर्कन आग्रह गरेको छ ।

यात्रा परामर्शअनुसार ६ वटा शर्त पूरा गरेर नेपालीहरू पर्यटक तथा भिजिट भिसामा सहजै विदेश जान पाउने भए पनि समयमै नआए कारबाही भने हुनेछैन ।

भिजिट तथा पर्यटक भिसामा गएका नेपालीहरू विदेशमा अप्ठेरो र समस्यामा पर्ने घटना बढेपछि सरकारले यसअघि कडाइ गरेको थियो । तर, मंगलबार ट्राभल एड्भाइजरी जार गर्दै नेपालीलाई भिजिट तथा पर्यटक भिसामा जान सजिलो हुनेछ ।

तर, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिजिट तथा पर्यटक भिसामा विदेश गएका व्यक्तिहरू तोकिएको समयमा नफर्किएमा त्यस्तो कुनै कारबाही हुने व्यवस्था भने नरहेको बताए ।

महानिर्देशक तामाङले भन्छन्, ‘कारबाहीभन्दा पनि नैतिक विषय हो । नफर्किएमा के हुने भन्ने त्यस्तो कारबाहीको व्यवस्था छैन।’

अब विदेश घुम्न जान कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी चाहिन्छ । सम्बन्धित देशको भिसा वा अन–अराइभल मुलुक भए भिसा नचाहिने हुन्छ ।

दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्नेछ ।

यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्नेछ । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा हुने भनिएको छ ।

विगतमा भिजिट तथा पर्यटक भिसामा गएकाहरू त्यही काम गरेर बस्ने गरेको पाइएको थियो । महिलाहरूलाई त्यस्तो भिसामा लगेर यूएई, बहराइन, कुवेत, साउदी र ओमान जस्ता देशमा घरेलु कामदारका रूपमा लगाउने गरेको पनि विगतका घटनाहरूबाट देखिएका छन् । अन्य देशमा जान पनि यी देशलाई गिरोहले प्रयोग गर्ने गरेको पाइएको छ ।

वर्षमा २ लाखभन्दा बढी १५६ देश पुगे

अध्यागमन विभागले सन् २०२३ मा २ लाखभन्दा बढी नेपाली १५६ देशमा भिजिट तथा पर्यटक भिसामा पुगेको जनाएको छ । ७३ हजार ५७५ महिला, एक लाख ३० हजार ९२६ पुरुष र १७ अन्यसहित २ लाख ४ हजार ५१८ जना नेपाली पछिल्ला १२ महिनामा यी भिसामा विदेश पुगेका हुन् ।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी भारत र युएईमा नेपाली भिजिट तथा पर्यटक भिसामा पुगेका छन् । त्यस अवधिमा भारतमा ७१ हजार ६९८ र युएईमा ५५ हजार ६१८ जना नेपाली उक्त भिसामा पुगेका छन् ।

तेस्रोमा थाइल्यान्ड रहेको छ । थाइल्यान्डमा २१ हजार २६० नेपाली पछिल्लो १२ महिनामा भिजिट तथा पर्यटक भिसामा पुगेका छन् ।

अस्ट्रेलियामा ५ हजार ८०१ र अमेरिकामा ४ हजार १५ जना भिजिट तथा पर्यटक भिसामा नेपाली पुगेका छन् ।

साउदी अरबमा एक हजार ८१४, कतारमा एक हजार ९७४, ओमानमा २ हजार ४९६ नेपाली उक्त भिसामा पुगेको विभागको तथ्यांक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved