चीन र फिलिपिन्सको तनाव बढ्दै, फिलिपिनी रक्षामन्त्रीद्वारा चिनियाँ विदेश मन्त्रालयको कडा आलोचना

फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टेओडोरोले बुधबार मनिलामा चिनियाँ विदेश मन्त्रालयका एक उच्च अधिकारी माओ निङ्गको कडा आलोचना गरेका छन् ।

नेपालभ्युज

चीन र फिलिपिन्सको तनाव बढ्दै, फिलिपिनी रक्षामन्त्रीद्वारा चिनियाँ विदेश मन्त्रालयको कडा आलोचना

काठमाडौं । चीन र फिलिपिन्सबीच वाक्‌‌ युद्ध बढ्दै गएको छ । दुई देशका उच्च अधिकारी एक अर्काविरुद्ध उत्रिएका छन् ।

फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टेओडोरोले बुधबार मनिलामा चिनियाँ विदेश मन्त्रालयका एक उच्च अधिकारी माओ निङ्गको कडा आलोचना गरेका छन् । माओ निङ्ग चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता तथा सूचना विभागकी उपनिर्देशक हुन्।

प्रवक्ता माओ निङ्गले मङ्गलबार बेइजिङमा विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई लक्षित गर्दै ‘ताइवान सवालका विशेष भित्री-बाहिरी कुरा बुझ्न राष्ट्रपतिले अझ धेरै किताब पढ्नुपर्ने’ बताएकी थिइन् ।

फिलिपिनी रक्षामन्त्रीले यसलाई ‘निम्नकोटीको अभिव्यक्ति’ भन्दै आलोचना गरेका हुन् । उनले चिनियाँ विदेश मन्त्रालयले ‘राज्य निर्देशित प्रोपागण्डा र गलत सूचना फैलाएको’ आरोपसमेत लगाएका छन् ।

ताइवानमा भर्खरै सम्पन्न निर्वाचनमा चीनविरोधी मानिएका प्रोग्रेसिभ डेमोक्र्याटिक पार्टीका उम्मेदवार लाई चिङते विजयी भएका थिए । फिलिपिनी राष्ट्रपति मार्कोस जुनियरले लोकतान्त्रिक निर्वाचनमा विजयी भएको भन्दै ताइवानका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई दिएका थिए ।

रक्षामन्त्री गिल्बर्टोले भने, “चिनियाँ विदेश मन्त्रालय प्रवक्ताको निम्नकोटीको अभिव्यक्ति हाम्रो राष्ट्रपति र फिलिपिन्स राष्ट्रकै अपमान हो । यो दूर्भाग्यपूर्ण हो ।” मन्त्री गिल्बर्टोले माओ निङ्गको अभिव्यक्तिबारे गम्भीरतापूर्वक सोच्न चिनियाँ सरकार, विदेश मन्त्रालय  र चिनियाँ कम्युनिष्ट पार्टीलाई आग्रहसमेत गरेका छन् ।

तर, मनिलास्थित चिनियाँ दूतावासले यसबारे कुनै प्रतिक्रिया जनाउन चाहेन । फिलिपिन्स अमेरिकाको सहयोगी तथा साझेदार राष्ट्र हो ।

चीनमा सन् १९४९ को कम्युनिष्ट क्रान्तिपछि तत्कालीन कोमिन्ताङ राष्ट्रवादी सेनाको नियन्त्रणमा रहेको ताइवानलाई अमेरिकाले भिन्नै देशको मान्यता दिएको छ । तर, चीनले भने ताइवानलाई आफ्नै भूमि मान्दछ ।

सोमबारको बधाई सन्देशमा राष्ट्रपति मार्कोसले ताइवानमा २ लाखभन्दा बढी फिलिपिनो कामदार रहेको तथ्य उजागर गर्दै ‘ताइवानसँगको आपसी हित र सम्बन्ध’ लाई फिलिपिन्सले उच्च महत्त्व दिने बताएका थिए । मार्कोसको यो भनाइ ‘एक चीन नीतिको विपरीत’  भएकोमा बेइजिङले आपत्ति जनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved