काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेकोछ।
बुधबार एनएसजेएफले पिपल्स च्वाइस अवार्डको ५ मनोनयन सार्वजनिक गरेको हो। फुटबलर अनन्त तामाङ टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारीरिक सुगठनकी रजनी श्रेष्ठ र करातेका विप्लवलाल श्रेष्ठ यसपटक मनोनयन परेका छन्।
खेल क्षेत्रमा पाएका लोकप्रियता र सफलताको आधारमा यस विधाका खेलाडीलाई मनोनयन गरिन्छ। घरेलु लिगमा राम्रो प्रभाव देखाउँदै फुटबलर अनन्तले आफ्नो डेब्यू कप्तानीमा नै चर्च ब्वाइज यूनाईटेडलाई र नेपाल सुपर लिगमा ललितपुर सिटी एसीलाई उपाधि दिलाउन सफल भए।
टेबल टेनिस खेलाडी सिक्का स्टयाग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुनुको साथै डबल्समा राष्ट्रिय च्याम्पियन हुन्। भलिबल खेलाडी निरुता नेपाललाई काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य पदक जित्ने नेपाली टोलीकी सदस्य हुन्। निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पनि हुन्।
शारीरिक सुगठनकी रजनी एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ किलो तौलसमूहकी स्वर्ण विजेता हुन्। करातेका विप्लवलालले भने एसियाली खेलकुदमा २ बाउट जित्नुको साथै इन्डोनेसियामा भएको विश्व सितोरियो करातो च्याम्पियनसिपमा रजत जित्न सफल भए।
२० औँ संस्करणको एनएसजेएफ माघ २८ गते आयोजना हुनेछ।
Facebook Comment
Comment