दलहरूलाई राष्ट्रपतिको आग्रह : संविधान कार्यान्वयनका लागि प्रण गरौं

नेपालभ्युज

दलहरूलाई राष्ट्रपतिको आग्रह : संविधान कार्यान्वयनका लागि प्रण गरौं

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानुनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शीतल निवासमा बोलाएर उनले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरूले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानुन निर्माणमा गर्ने काममा ढिलाइ गर्न नहुने बताएका छन् ।

‘मैले यहाँ आएपछि विभिन्न विदेशी पाहुनाहरूसँग भेटेको छु उनीहरूले नेपालको संविधानको प्रशंसा गरेका छन्’, उनले भने ‘यत्तिको संविधान दक्षिण एसियामा, सार्क मुलुकहरूमा कमै होला भनेर सबैले सम्मान गरेका छन् तर अब यसलाई कार्यान्वयनमा ल्याउन आवश्यकता छ ।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रूपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved