काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सार्वजनिक पोखरी निर्माणमा अनियमितता गरेको आरोपमा आयोगले तत्कालीन प्रशासकीय अधिकृत केशवकुमार अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
धनुषाको हंसपुर नगरपालिका–१ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नम्बर १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन हुँदा अधिकारीसहित तत्कालीन नगरपालिका–१ का वडाअध्यक्ष कामेश्वर कापर, ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
५ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Facebook Comment
Comment