काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउने व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।
जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको जनाउँदै उनीहरूलाई चिसोबाट जोगाउन तत्काल व्यवस्था गर्न सुझाव दिएका हुन् ।
सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरै ज्यान जानसक्ने बताए । ‘त्रिपालमा बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला र वृद्धवृद्धा धेरै प्रभावित भएको पाइयो, बिरामीको सङ्ख्या पनि अधिक छ’, उनले भने, ‘दाउरा वितरणदेखि न्यानो कपडा भूकम्पपीडितलाई आवश्यक छ । यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ ।’
जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको पाइएको सदस्य ठाकुरले बताए । उनले केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे । ‘राहत वितरण प्रक्रिया पनि पारदर्शी हुनसकेको देखिएन, टाठाबाठाले नै धेरै राहत लिएको पाइयो’, उनले भने, ‘यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।’
उनले प्रदेश सरकारलाई पुनःनिर्माण प्राधिकरण गठन गरेर काम गर्न सुझाव दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले सङ्घीय सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा प्रदेशको भूमिकालाई शून्य बनाएको आरोप लगाए ।
अस्थायी आवास निर्माणका लागि प्रदेश सरकारले एक अर्ब छुट्याएको र संघीय सरकारले दिने रकमबाट सार्वजनिक संरचना निर्माण गर्ने उनले बताए ।
Facebook Comment
Comment