बञ्चरेडाँडा र सिसडोलमा फोहरको गन्ध : हुन थाल्यो मानवीय असर, हुन छाड्यो उब्जनी

नेपालभ्युज

बञ्चरेडाँडा र सिसडोलमा फोहरको गन्ध : हुन थाल्यो मानवीय असर, हुन छाड्यो उब्जनी

काठमाडौं । २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनीसमेत हुन छाडेको छ । उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीमा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ । सरकारले फोहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको हो ।

फोहोरको दुर्गन्धका कारण माटोमा अन्न र फलफूल पनि फल्न छाडेको स्थानीय किसानहरुको गुनासो छ । उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए । किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ ।

यस क्षेत्रका किसानहरु लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् । ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरि ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २,ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गरे ।

कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु, काउली, गोलभेंडा र सागजस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताए । उनले बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गरे । उनले कागती निबुवाजस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेको बताए । उनले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको सुनाए ।

कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । कृषक बजगाईंले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए । ‘ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ,’ उनले भने, ‘उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर,निबुवा,जुनारभित्र किरा लागेर खानै नहुने हुन थालेको छ ।’ उनले किसानहरुको महेनतसमेत खेर जान लागेको बताए ।

अर्का कृषक मनिष ढुङ्गानाको पीडा पनि अरु किसान र स्थानीयको भन्दा फरक छैन । उनले काठमाडौं उपत्यकाको फोहोर अस्तव्यस्त रुपमा नुवाकोट सिसडोल र बञ्चरेडाँडामा फाल्दा फोहोरको दुर्गन्ध कम गर्न हालिएको केमिकलहरुले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको पनि बताए ।

काठमाडौं उपत्यकाको फाहोर सिसडोल र बञ्चरेडाँडामाजथाभावी फालिदिँदा डम्पिङ साइटनजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) का केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरुमा बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved