नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई उपाध्यक्ष वैद्यको आग्रह 

नेपालभ्युज

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई उपाध्यक्ष वैद्यको आग्रह 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालले वैदेशिक लगानी ऐनलाई खुकुलो बनाएकाले विदेशी लगानीकर्ताहरूको लागि लगानीको राम्रो अवसर खुलेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र चीनको गान्सु प्रान्तका व्यापार विभागको संयुक्त आयोजनामा आयोजित ‘प्रमोसन कन्फ्रेन्स एण्ड बिजनेस म्याचिङ मिटिङ’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बिहीबारदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन भइरहेको छ । जसमा चीनका व्यवसायी तथा प्रतिनिधिहरूले पनि सहभागिता जनाएका छन् । उक्त मेलाको भ्रमणमा चीनका व्यवसायी, लगानीकर्ता र प्रतिनिधिहरूको बाक्लो उपस्थितिले आफू खुसी भएको उपाध्यक्ष वैद्य बताउँछन् ।

नेपाल भ्रमणमा रहेका गान्सु प्रान्तका चिनियाँ व्यवसायी र नेपाली व्यवसायी दुवै एकै ठाउँमा आएर सहयोगका सम्भावित क्षेत्रहरू पत्ता लगाउन र एकअर्कासंग भेटघाट गरी व्यावसायिक सम्बन्ध स्थापित गर्न सकोस् भन्ने उद्देश्यसहित यस कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

उनका अनुसार नेपाल सरकार विदेशी लगानीलाई थप आकर्षण बनाउन अर्थतन्त्रलाई थप खुला गर्ने दिशामा अघि बढिरहेको छ । ‘नेपालले वैदेशिक लगानी ऐनलाई अझ खुला गरेको छ,’ उनले भने ‘म सबै चिनियाँ व्यवसायी मित्रहरूलाई यी खुला नीति तथा ऐनबाट फाइदा लिन र नेपालमा लगानीका क्षेत्रहरू खोज्न आग्रह गर्दछु ।’

दुई देशको व्यावसायिक सम्बन्ध सुदृढ बनाउन आयोजना गरिएको उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारी, व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, गान्सु प्रान्तका व्यापार विभागका डेपुटी डाइरेक्टर छियान चुन लगायत नेपाली तथा चिनियाँ व्यवसायी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved