काठमाडौं। एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा मधेसले एपीएफलाई ११ रनले पराजित गरेको हो ।
यससँगै शुक्रबार हुने फाइनलमा उपाधिको लागि आर्मी र मधेसबिच प्रतिस्पर्धा हुने पक्का भएको छ। १९८ रनको लक्ष्य पछ्याएको एपीएफले पूरै ओभरमा ९ विकेटको क्षतिमा मात्र १८६ रन बनायो । एपीएफको लागि कप्तान प्रदीप ऐरीले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए ।
सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाए । तथापि जितको लागि भने पर्याप्त हुन सकेन। मधेसको लागि विशाल पटेलले ३ तथा हरिशंकर शाह र प्रदीप पास्वानले २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १९७ रन बनायो । मधेसको लागि अनिल साहले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५७ रन बनाए । इम्रान शेखले भने ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे ।
एपीएफको लागि मौसम ढकालले ३, अमर रौतेलाले २ तथा पुरण बिकले १ विकेट लिए ।
Facebook Comment
Comment