अमेरिकी शिशुको खानामा अझै पनि न्यून मात्रामा कीटनाशक तत्व भेटिएको दाबी

नेपालभ्युज

अमेरिकी शिशुको खानामा अझै पनि न्यून मात्रामा कीटनाशक तत्व भेटिएको दाबी

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्व भेटिने गरेको एक अध्ययनले देखाएको छ ।

यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको एक गैर–नाफामुलक अमेरिकी पर्यावरण समूहले गरेको नयाँ अध्ययनले देखाएको हो ।

वातावरणीय कार्य दल (ईडब्लुजी) ले नोभेम्बरको मध्यमा सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा संयुक्त राज्य अमेरिकामा परम्परागत वा गैर–जैविक, बच्चाको खानामा विषाक्त कीटनाशकहरू रहेको पाइएको उल्लेख गरेको छ ।

“अध्ययन गरिएका ५८ परम्परागत शिशु खाद्यपदार्थमध्ये २२ मा कम्तीमा एउटा कीटनाशक अवशेष भेटिएको छ,” ईडब्लुजीले दावी गरेको छ ।

“विशेष गरी शिशुहरू र साना केटाकेटीहरू कृषि कीटनाशकहरूको अवशेष भएको खाना खाँदा स्वास्थ्यमा हुने सम्भावित हानिहरूको चपेटामा पर्छन् ,” ईडब्लुजीले भनेको छ ।

गैर–नाफामुलक संस्थाले संयुक्त राज्य अमेरिकाका तीन लोकप्रिय ब्रान्डहरू बीच–नट, गेरबर र पेरेन्ट्स च्वाइसका उत्पादनहरूको परीक्षण गरेको बताएको छ ।

ईडब्लुजीका अनुसार सन् १९९५ मा गरिएको यस्तै अध्ययनको तुलनामा शिशुको खानामा कीटनाशकको मात्रा घट्दै गएको छ ।

ईडब्ल्यूजीका अनुसार सन् १९९५ मा गरिएको एक अध्ययनमा ‘नमूना लिएका ७२ वटा शिशु खाद्य पदार्थमध्ये ५३ प्रतिशतमा कम्तीमा एउटा कीटनाशकको अवशेष थियो’ र फेला परेका कीटनाशक पछिल्लो परीक्षणले पत्ता लगाएका कीटनाशकभन्दा धेरै विषाक्त र खतरनाक थिए ।

मस्तिष्कमा क्षति पुर्याउने बग किलर क्लोरपाइरिफोस नामक विषाक्त कीटनाशक अब बच्चाको खानामा नपाइने ईडब्लुजीले उल्लेख गरेको छ ।

क्लोरपाइरिफोसको निकै थोरै मात्राले पनि शिशु र बालबालिकाको स्वास्थ्यलाई स्थायी रूपमा क्षति पुर्‍याउन सक्छ ।

सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved