काठमाडौं । धरानको एयरपोर्ट विवादले देशभरिकै भौतिक पूर्वाधार विकास नीति र विमानस्थल निर्माणको होडबाजीलाई राष्ट्रिय बहसमा तानेको छ । देशमा कहाँकहाँ के कति एयरपोर्ट चाहिने वा नचाहिने हो भन्ने बहस सामाजिक सञ्जालमा छाएको छ ।
यस बहसमा भौतिक पूर्वाधारविज्ञ, पूर्वप्रशासकदेखि सर्वसाधारणलेसम्म धारणा व्यक्त गरिरहेका छन् । अधिकांशको रायमा धरानमा भिन्नै विमानस्थल आवश्यक छैन । तर, धरानका मेयर हर्क साम्पाङले भने आफ्नो नगरमा एयरपोर्ट बन्नु पर्ने सार्वजनिक अडान राख्दै आएका छन्।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले पर्यटन तथा संस्कृतिमन्त्री सुदन किरातीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्–‘मन्त्रीज्यू ! धरानमा एयरपोर्ट आवश्यक छैन । यस्तो अनावश्यक र तदर्थ विषयमा समय बर्बाद नगर्नुस्। बरु धरानको विकासमा सहयोगी हुनसक्ने अन्य पूर्वाधार आयोजनाका बारेमा बिमर्श गर्नुहोस् ।’
पूर्वमन्त्री, नागरिक व्यक्तित्व तथा विकास अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डेले पनि यस बहसमा रुचि देखाएका छन् । उनले व्यङ्ग्य गर्दै लेखेका छन्–‘मलाई इटहरी जानु छ, धरान उडुँ कि विराटनगर भन्ने समस्या आइलाग्ने भो, क्या फसाद!’
उनले धरानका मेयर हर्क साम्पाङलाई सम्बोधन गर्दै अगाडि थपेका छन्– ‘ए, हर्क बाबु ! विमानस्थल बनाउने जग्गाका किसानलाई प्रोत्साहित गरेर तरकारी फलाऊ, फूलहरु फुलाऊ, किसानको आम्दानी बढाऊ ।’
उनले पर्यटन तथा संस्कृति मन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्– ‘ए, किराती बाबु, यस्ता मुर्ख कुरामा लाग्न छोड, सक्छौं भने अर्बौं ऋण बोकेर बसेको पोखरा विमानस्थललाई राम्रोसँग चलाउ, भैरहवाको उपयोगिता बढाऊ ।’
के भएको थियो धरानमा ?
धरानमा विमानस्थल बनाउने भन्दै करिब २० वर्षअघि यति इनकर्पोरेटेड प्रालिले करिब ७ बिघा जमिन सस्तो मूल्यमा खरिद गरेर राखेको थियो । यसको पहलकदमी लिने आङ छिरिङ शेर्पाको २०७५ फाल्गुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भइसकेको छ ।
आङ छिरिङ शेर्पाले धरानको स्थानीय समुदायलाई सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत विमानस्थल बनाउने आश्वासन दिएका थिए । त्यसका लागि यति एयरलाइन्स प्रालिको साझेदार कम्पनीका रुपमा यति इनकर्पोरेटेड प्रालि स्थापना गरिएको थियो । धरानका तत्कालीन मेयर कुमारबहादुर कार्की र पूर्वमेयर मनोजकुमार मेन्याङ्बो लगायतले यस कार्यमा आङ छिरिङ शेर्पालाई सहयोग र सहजीकरण गरेका थिए ।
यति इनकर्पोरेटेड प्रालिले किसानबाट २५–३५ हजार कठ्ठाको दरले जमिन खरिद गरेको थियो । अहिले त्यो जमिनको मूल्य ४०–६० लाख कठ्ठा पुगेको छ । यति इनकर्पोरेटेड प्रालीले यति महंगो जग्गा आफ्नो नाममा पारेर राखेको छ तर एयरपोर्ट भने बनेन ।
त्यसै पनि धरानमा विमानस्थल बन्ने सम्भावना कमजोर थियो । धरान विराटनगर विमानस्थलको ४० नटिकल माइलभित्र पर्दछ । धरान– विराटनगरको दुरी ३७ किमीको छ । सडक राम्रो भएको खण्डमा यो ३५ मिनेटको ड्राइभिङ हो । अहिले त्यहाँ ४ लेन सडक निर्माणाधीन छ ।
नागरिक उड्यन प्राधिकारणले धरानमा विमानस्थल बनाउन उचित ठानेन । त्यति जमिनमा ठूलो आकारको विमानस्थल बन्दैन। ठूलो आकारको विमानस्थल बनाउन एक त आवश्यक देखिन्न, अर्को धरानको भौगोलिक अवस्थाले नै धेरै जमिन अधिग्रहण गर्न सम्भव हुँदैन । धरानको तल्लो किनारामा चारकोशे जंगल छ भने माथिल्लो भागमा पहाडी डाँडा छन् । धरानको भूमिस्रोत सीमित प्रकृतिको छ ।
अर्को कुरा– विमानस्थलको भूस्वामित्व निजी कम्पनीको नाममा राख्ने प्रचलन छैन । त्यस्तो जमिन कि त सरकारले अधिग्रहण गर्नुपर्ने हुन्छ कि त निजी क्षेत्रलाई नै विमानस्थल बनाउन र सञ्चालन गर्न अनुमति दिनुपर्ने हुन्छ । यति इनकर्पोरेटेड प्रालिले विमानस्थल बनाउने नाममा सस्तोमा खरिद गरी धरानजस्तो शहरको जमिन ओगटेर राख्नु कति उचित थियो भन्ने प्रश्न उठाउन सकिन्छ ।
जे होस, जमिन खरिदको सम्झौतामा विमानस्थल बन्न नसके सम्बन्धित किसानलाई नै जमिन फिर्ता गर्दिने शर्त थियो । तर, जमिन फिर्ताको प्रक्रिया र शर्तनामा भने प्रष्ट थिएन । यति इनकर्पोरेटेड प्रालिले अब किसानलाई जमिन कसरी र कुन मूल्यमा फिर्ता गर्नु पर्ने हो, यतिको लगानी र बढोत्तरी मूल्य (एप्रिसिएसन भ्यालू) के कति हुने ? प्रष्ट छैन ।
सुरु भयो भूमाफियाको चलखेल !
एयरपोर्ट नबन्ने प्रष्टता र जमिनको मूल्य आकासिने लोभमा भूमाफियाले चलखेल सुरु गरे । किसानलाई सानो रकम लिएर मुख बुझो लगाउने र यति इनकर्पोरेटेड प्रालिसँग मिलेर प्लटिङ गरेर जग्गा बेच्ने प्रयास सुरु भयो । पूर्वमेयर मनोजकुमार मेन्याङबोका अनुसार यो काममा धेरै ठूला र शक्तिशालीको चालखेल छ । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटहरु यो काममा लागेका छन् ।
आफ्नो जमिनबाट भूमाफियाले ठूलो रकम कमाउने देखेपछि किसानले जमिन फिर्ताको माग गर्न थाले । तर, यति इनकर्पोरेटेड प्रालि भने यस्ता बैठक र छलफलमा सामेल भएन । यसबारे यति इनकर्पोरेटेड प्रालीको अडान के हो प्रष्ट छैन । यहीबीच मेयर हर्क साम्पाङले एयरपोर्ट बनाउन भनेर मन्त्रालयमा पत्राचार गरे । मन्त्री सुदन किरातीले संभाव्यता अध्ययन कार्यदल गठन गरिदिए ।
५१ जहाज ५६ विमानस्थल
नागरिक उडान प्राधिकरणका अनुसार देशमा अहिले ५६ वटा विमानस्थल छन् । तर, आन्तरिक उडान प्रयोजनका लागि ५१ वटा मात्र जहाज छन् । अधिकांश साना विमानस्थल दशकौंदेखि बन्द छन् । कतिपय विमानस्थलमा हप्तामा १-२ छिटफुट उडान हुने गरेका छन् ।
विमानस्थल बनाएर मात्र चल्ने हैन । त्यसको व्यवसायिक संभाव्यता पनि हुनु पर्छ । विमानस्थल वरपर त्यही अनुसारको बाक्लो बस्ती र विमान चढ्नसक्ने आर्थिक क्षमता पनि हुनु पर्दछ । साना जहाजको सञ्चालन खर्च धेरै हुने, भाडा दर महंगो हुने र व्यावसायिक भविष्य सुनिश्चित नहुने हुँदा जहाज कम्पनी दुर्गम र साना विमानस्थलमा उडान भर्न उत्साहित छैनन् । नेपाल वायु सेवा नियमको लागत सबैतिर उडान सुविधा दिन सक्ने गरी बलियो छैन ।
जहाँ मन्त्री, त्यहीं विमानस्थल
मन्त्रीहरुले आफ्नो जिल्लामा व्यवसायिक उडानको सम्भावनाबिनै विमानस्थल थपेर सस्तो लोकप्रियता कमाउन खोजेको देखिन्छ । त्यसका पछिल्ला उदाहरण गुल्मीको रेसुङ्गा र अर्घाखाँचीको विमानस्थल हुन् ।
रेसुङ्गा प्रदीप ज्ञवाली पर्यटन तथा संस्कृतिमन्त्री भएको बेला निर्माण सुरु भएको थियो भने अर्घाखाँचीमा टोपबहादुर रायमाझी संस्कृतिमन्त्री हुँदा विमानस्थल बनाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो जन्मस्थल चुहाडाँडामा विमानस्थल बनाउन खोजेका थिए । त्यसैको स्थलगत अध्ययनमा जानेक्रममा तत्कालीन पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारी तथा यतिका मालिक आङ छिरिङ शेर्पाको हेलिकप्टर दूर्घटनामा मृत्यु भएको थियो ।
यति इनकर्पोरेटेड प्रालिले धरानमा मात्रै हैन, चुहानडाँडा वरिपरि पनि धेरै जमिन सस्तो मूल्यमा खरिद गरेर ओगटेर राखेको स्थानीय बताउँछन्।
घट्दैछ साना विमानस्थलको महत्व
देशमा पर्याप्त स्थल मार्गको विकास नहुँदा दुर्गम र विकट पहाडी क्षेत्रमा साना विमानस्थलको महत्व थियो । तर, विस्तारै सबैतिर सडक बन्दै गएको छ । हवाई मार्गभन्दा सडक मार्ग सस्तो पर्ने हुँदा कम जनसंख्या भएका विकट पहाडी क्षेत्रमा नियमित र व्यवसायिक उडान सम्भव हुँदैन । तसर्थ अनावश्यक थप विमानस्थल बनाउने भन्दा सडक मार्गको गुणस्तर सुधार गरी विमानस्थलसम्मको दुरी र समय घटाउने रणनीति उपयुक्त हुन्छ । साथै, पर्यटकीय सम्भावना र प्रवाहलाई समेत ध्यान दिन पर्दछ ।
हिमाली विमानस्थल भएर पनि जोमसोम र लुक्लाको प्रयोग बढी छ । विमानस्थल भएका अन्य जिल्ला र क्षेत्रले आफूलाई सोही अनुरुप ब्रान्डिङ गर्न सकेका छैनन् ।
धरान–विराटनगरको स्थलमार्ग सहज र छोटो दुरीको छ । त्यसैले धरानमा भिन्नै विमानस्थलको आवश्यकता देखिन्न । शक्ति र शानकै लागि बनाउने हो भने पनि काठमाण्डौंबाट धरानको भाडादर विराटनगरको भन्दा महंगो पर्न सक्दछ किनकी विराटनगरको तुलनामा धरानको व्यवसायिक क्षमता कम हुनेछ ।
Facebook Comment
Comment