काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन् । उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताए ।
उनले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडी बढ्ने बताए । ‘अदालतले जुन आदेश, फैसला गर्छ सरकारले त्यसलाई सम्मान गर्छ । अदालतको निर्णय सरकारले पालना गर्छ’ उनले भने, ‘कतिपय विषयहरु सरकारले निर्णय गर्छ । ति विषयहरु अदालतमा जान्छन् । ति निर्णयमा कहिलेकाही अदालतले फरक आदेश पनि गर्न सक्छ । ति आदेशहरु पालना गर्छ ।’
मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।
Facebook Comment
Comment