काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गरेको सम्बोधन धेरै राम्रो रहेको बताएका छन् ।
मंगलवार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गरे । उनले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राखे ।
गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषदको सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताए । उनले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताए ।
अध्यक्ष ओलीले भने, ‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले केही महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभएको छ । नेपालको संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरण,गरिवी निवारण, शान्ति प्रक्रियालाई टुंग्याउने बारेमा र विभिन्न विषयमा उहाँले प्रकाश पार्नु भएको छ ।’
अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिव देशहरुलाई सम्पन्न देशहरुले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताए ।
Facebook Comment
Comment