सुपारीले उचित मूल्य नपाउँदा किसान चिन्तित

नेपालभ्युज

सुपारीले उचित मूल्य नपाउँदा किसान चिन्तित

झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताए । उनले नेपालमा सुपारी खेतीको बिस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए ।

“काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भने, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकै पटक आन्दोलनमा उत्रिन्छौँ ।” उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटक पटक राखिसकेको जानकारी दिए ।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सुरेन्द्र साहले बिचौलियामार्फत स्थानीय स्तरमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरूमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गरे । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर बिचौलिया हाबी हुँदा किसान मर्कामा परेका उनको भनाइ थियो ।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९र८० मा कोसी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved