काठमाडौं । नेपाल, यूएई र हङकङबीचको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला आज बुधबारदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा नेपाल र यूएईले खेल्दैछन् । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजे मुल्पानी मैदानमा सुरु हुनेछ ।
नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि लागेको टी-२० शृङ्खला हुन लागेको हो ।
नेपाल र यूएईले पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।यूएईले अष्ट्रेलियामा टी-२० विश्वकप खेलेको थियो ।
टी-२० अन्तर्राष्ट्रियमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।
यसअघि ओडीआई खेल भइसकेको मुल्पानीमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । मैदानलाई चिटिक्क बनाइएको छ ।
Facebook Comment
Comment