भीआईपीको बन्दी जीवन : खाण भन्छन्- ‘बदला लिन्छु’, उच्च अदालतबाट छुट्ने टोपबहादुरको आशा

खाणलाई भेट्न नेता कार्यकर्ताको लर्को, टोपबहादुरलाई भेट्न कोही आउँदैनन्

कारागारको फलामे गेटभित्र पसेपछि सुरु हुन्छ एउटा बेग्लै संसार। कुनै कसुर नगरी आफूखुसी त्यो गेटभित्र पस्न मनाही छ। र, भित्र पुगेकालाई बाहिर निस्किन पनि। त्यहाँ भौतिक पूर्वाधारको अवस्था दयनीय छ। सजिलो असजिलो जे भए पनि कैदी बन्दीलाई बस्नुपर्ने बाध्यता छ। तैपनि ‘भीआइपी कैदी’का लागि भने बस्न तुलनात्मक रूपमा सहज छ। त्यहाँ रहेका नेताहरूको जीवनशैली कस्तो छ त ?

भीआईपीको बन्दी जीवन : खाण भन्छन्- ‘बदला लिन्छु’, उच्च अदालतबाट छुट्ने टोपबहादुरको आशा

काठमाडौं। पूर्वमन्त्री बालकृष्ण खाणको बास १ असारको साँझदेखि सुन्धारास्थित केन्द्रीय कारागारको भद्र जेलमा छ। त्यो साँझ कारागार प्रशासनका कर्मचारीले प्रक्रिया पुर्‍याएर खाणलाई भित्र बस्नकोलागि जिम्मा लगाउँदै थियो। प्रशासनबाट भित्र छिर्दै गर्दा खाण निकै हडबडाए।

कारागार प्रशासनको कार्यालयबाट बन्दी गृहतर्फ छिर्दै गर्दा बीचमा ठूलो फलामे ढोका छ। कारागार प्रशासनका एक कर्मचारी त्यो दिनको घटना सम्झन्छन्,‘‘क्याप टोपी र मास्क लगाइरहनुभएको थियो। भित्र छिर्दा एक्कासि बरर आँखाबाट आँसु झार्नुभयो। उहाँ बिस्तारै सुक–सुक गर्दै भित्र प्रवेश गर्नुभयो।’’

त्यो गेटभित्र सुरु हुन्छ एउटा बेग्लै संसार। आफ्नो भागमा खुम्चिएको आकाश परेका खाणको सानो संसार त्यहीबाट सूरु भयो।

कुनै कसुर नगरी आफूखुसी त्यो गेटभित्र  बस्न मनाही छ। र, भित्र पुगेकालाई बाहिर निस्किन पनि। यही नियम सम्झिएर होला खाणका आँखाबाट बरर आँशू झरे।

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै खाणलाई पनि जेल लगिएको थियो।

कारागारको नियमअनुसार कुनै नयाँ कैदी–बन्दी ल्याइयो भने प्रशासनले सबै विवरण राख्छ । त्यसपछि कैदीबन्दी गृहमा प्रवेश गराउँछ। कारागार प्रवेश गरेपछि आन्तरिक प्रशासनको काम सुरु हुन्छ। बन्दीगृह प्रवेश गरेपछि खाणको विवरण त्यहाँका ‘नाइके’ले टिपोट गरे।

त्यसपछि नाइकेले खाणलाई हातको इसारा गर्दै जेलका सबै नियमबारे बताए। जेलको नियमबारे सुन्दा मौन बसेका खाणले कुनै प्रतिक्रिया जनाएनन्।

अन्तिममा लामो सुस्केरा हाल्दै खाणले प्रतिक्रिया दिए। खाणको भनाइ उद्धृत गर्दै जेल प्रशासनका एक कर्मचारीले भने, ‘‘के गर्नु यस्तै लेख्या रैछ !’’

खाणलाई भेट्न पत्नी मञ्जु प्राय: गइरहन्छिन्। उनले पार्टीका नेता कार्यकर्तालाई फोन गरेर खाणलाई भेट्न पठाउनेसमेत गरेकी छिन्। जेलमा रहेका पतिलाई भेट्न जाँदा मञ्जुको रवाफ भने अझै नघटेको कारागारका एक प्रहरी बताउँछन्।

उनले भने, ‘‘मञ्जु म्याडम आउनुहुन्छ। यहाँ हामीले प्रक्रिया पूरा गरेर मात्र बन्दीलाई भेट्न पठाउनुपर्ने हुन्छ। तर, उहाँले ‘म पूर्वगृहमन्त्रीको श्रीमती हुँ। पूर्वगृहमन्त्रीलाई भेट्न आएकी हुँ। मलाइ के को नागरिकता नागरिकता’ भन्दै पेलेर जान खोज्नुहुन्छ।’’

जेलमा खाण अत्यन्त निराश छन्। उनी कारागारका अरूसँग गफगाफ गर्दैनन्। तर, उनलाई भेट्न भने कारागारमा नेतादेखि कार्यकर्ता आइरहन्छन्। एक प्रहरी कर्मचारी खाणको दिनचर्या सुनाउँदै भन्छन्, ‘‘कारागार कर्मचारी र सुरक्षाकर्मीसँग कहिलेकाहीँ कुरा गर्छन्। त्यो गफमा खाण अदालतप्रति गुनासो मात्रै गर्छन्।’’

आफू थप माथिल्लो तहमा पुग्न लागेकाले रोक्न फसाईको खाणको गुनासो छ। उनको गुनासोलाई उद्धृत गर्दै ती प्रहरी कर्मचारी थप्छन्, ‘‘कांग्रेस सभापति र प्रधानमन्त्रीसम्म हुन सक्ने भएकाले यत्तिकै फसाइयो। मैले केही गरेको छैन। अदालतले मलाई त्यत्तिकै यहाँ पठायो। निस्किएर बदला लिन्छु।’’

०००

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसँगै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि उही जेलमै छन्। उनीहरूलाई केन्द्रीय कारागारको भद्र बन्दीगृहमा एउटै कोठामा राखिएको छ।

दुर्लभ संयोग, यी दुई नेता ३५ वर्षअघि पञ्चायतकालमा पनि यही जेलको यही बन्दीगृहमा एउटै कोठामा थुनिएका थिए। २०४५ सालमा पञ्चायतविरुद्ध उत्रँदा उनीहरूलाई थुनिएको थियो। उनीहरूलाई भद्र बन्दी गृहमा तीन महिना राखिएको थियो।

अहिले फेरि जेल पुगेका खाणलाई भेट्न नेता कार्यकर्ताको लर्को लागेपछि रायमाझीलाई भेट्नेहरू भने कम आउने गरेका छन्। माओवादी छाडेकाले उनीसँग कार्यकर्ता कम छन्। एमाले प्रवेश गरेको छोटो समयमै जेल परेकाले एमालेका नेता कार्यकर्तासँग पनि उनको धेरै घनिष्ठता छैन।

स्रोतले भन्यो। ‘‘उहाँको राजनीतिकभन्दा पारिवारिक भेटघाट भइरहेको छ। आफन्त नातागोता आउँछन्। खाणको जति धेरै मान्छे उहाँलाई भेट्न आउँदैनन्।’’

पुर्पक्षमा जेल चलान भई अन्तिम फैसला कुरिरहेका रायमाझीको दिनचर्या चेस खेल्ने, क्यारेम खेल्ने, पुस्तक पढ्ने गरेरै बित्छ। कोही भेट्न आए भने उनी गफिन्छन्।

रायमाझीका आफ्नै छोरा सन्दीप भने अर्कै कोठामा छन्।

बाबुछोरा सँगै नभए पनि भेट भइरहन्छ। बन्दीलाई सरकारले नै खानाको लागि चामल दिएको हुन्छ। तर उनीहरूले त्यसमा पैसा थपेर राम्रै चामलको खाना खान्छन्।

एक कर्मचारीका अनुसार रायमाझी आफूलाई राज्य नै लागेर फसाएको आरोप लाउँछन्। उनको गुनासो उद्धृत गर्दै एक कर्मचारीले भने, ‘‘राजनीतिक प्रतिशोधले फसाइयो। एक दिन सत्यको जित होला।’’

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूले अब उच्च अदालतमा निवेदन दिएका छन्। उच्च अदालतले जिल्लाको आदेश बदर नगरे उनीहरूको जेल जीवन लम्बिने छ। उच्चको आदेशपछि दुवै पक्षलाई सर्वोच्च जाने बाटो खुला हुनेछ। तर, रायमाझी र खाण दुवैले आशा भने मारिसकेका छैनन्।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

000

सुन्धारा कारागारको भौतिक पूर्वाधारको अवस्था केही राम्रो छ, केही दयनीय। भूकम्पअघि २०६९ सालमा भदौमा कैदी सुतिरहेको बेलामा गाह्रो भत्किएको थियो। धन्न कसैको ज्यान गएन। कोही पनि जेलबाट भागेनन् पनि।

भूकम्पमा पनि केही क्षति भयो। त्यसपछि केही संरचना पुनर्निर्माण गरिएको छ। कारागारको अवस्था अहिले केही सुधार भइसकेको छ। तर, केही संरचना अझै जीर्ण छन्।

केन्द्रीय कारागार सुन्धाराको गेट

सजिलो असजिलो जे भए पनि कैदीहरू त्यही बस्छन्, सुत्छन्। धेरैजना एकै ठाउँमा सुत्नुपर्ने भएकाले उडुस र लामखुट्टेको पनि सिकार हुनुपर्छ।

सुुन्धारास्थित जगन्नाथ देवलमा ३ वटा ब्लक छन् । पहिलो केन्द्रीय, दोस्रो भद्रगोल र तेस्रो महिला कारागार। केन्द्रीयभन्दा महिला कारागारको स्तर राम्रो।

बाँकी दुई कारागारको स्तर थोरै कमजोर छ। तैपनि भीआइपी कैदीका लागि भने बस्न तुलनात्मक रूपमा सहज बनाइएको छ। पावर र पहुँच भएकाहरूलाई भने कोठामा थोरै मानिस राखिएका छन्। सरसफाईका हिसाबले पनि चटक्क पाएको छ। यस्तै मध्यमा राखिएको हाे, खाण र रायमाझीलाई पनि भद्रगोल जेलमा।

गुन्डा नाइकेलाई भेट्न ‘केटाहरू’को लर्को

हत्या अभियोगमा त्यही जेलमा सजाय काटिरहेका गुन्डा नाइके समीरमान सिंह बस्न्यात पनि त्यही भेटिन्छन्। २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो।

गुन्डा नाइके समीरमान सिंह बस्न्यातलाई भेट्न भने उनका साथीहरू बाक्लै आउजाउ गर्छन्। कतिपय भन्ने गर्छन्, ‘उनले जेलबाटै आफ्नो केटाहरू परिचालन गराइरहेका छन्।’ साथीहरूका अलवा उनका परिवार र आफन्त भेट्न पुग्छन्।

केन्द्रीय कारागारमा महरा, पाण्डे र कोइराला

रायमाझी र खाणसँगै जेल परेका हुन् सचिव टेकनारायण पाण्डे। उनीहरूमाथि ठगी र आफ्नो नागरिकलाई शरणार्थी बनाउने निकृष्ट अपराधमा संलग्न भएको अभियोग छ। राज्यविरुद्धको कसुरको आरोपसमेत लागेका पाण्डेलाई भने केन्द्रीय कारागारमा राखिएको छ।

जेलमा रहेका सचिव टेकनारायण पाण्डे

राहुललाई भेट्न परिवार नै

९ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा केन्द्रीय कारागारमै छन्। अदालतको आदेशसँगै शुक्रबार उनलाई त्यहाँ पठाइएको हो।

उनी जेल परेपछि २ दिन सार्वजनिक बिदा भयो। यस कारण सोमबार उनका परिवार राहुललाई भेट्न लत्ताकपडा र खानेकुरा लिएर पुगेका थिए। पत्नीसँगै बुवा कृष्णबहादुर महरा, दाइ निर्मल पनि कारागार पुगेका थिए।

छोरा राहुललाई भेट्न केन्द्रीय कारागार पुगेका कृष्णबहादुर महरा गाडीभित्र, अर्का छोरा निर्मल गाडी बाहिर २ जनाको बीचमा

०००

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पनि केन्द्रीय कारागारमै सजाय काटिरहेका छन्। सजाय घटाउने गरी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएपछि उनी फेरि जेल गएका हुन्।

उनको जीवनशैली पनि अरू कैदीबन्दीको जस्तै छ। पुस्तक पढ्ने र खेल खेल्ने उनको रुचि रहेको कारागार प्रशासनका अधिकारी बताउँछन्। यसबाहेक जेलमा अरू बन्दीसँग गफिने र आफन्त भेटेर उनी दिन बिताउँदै आएका छन्।

डीआईजी कोइरालाले १० वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएका थिए। २० वर्ष कैद सजाय सुनाइएको थियो। पत्नी हत्याको अपराध सावित भए पनि जबराको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए। फेरि पछि उनी जेल परेका हुन्।

डिल्लीबजारमा इच्छाराज, पत्नी सिर्जना सुन्धारामा

२ वर्षअघि दशैंको मुखमा पक्राउ परेका थिए, पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ। २०७९ को १७ असोजमा धूमधामसँग दशैं मनाउने तयारीमा रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्‍यो।

जेलबाट बाहिर बसेर मुद्दा लड्नका लागि न्यायाधीशलाई घुस दिन खोजेको अडियो सार्वजनिक समेत भयो। त्यसयता उनी डिल्लीबजार कारागारमा छन्।

संविधान बनाउनका लागि निर्वाचित भएको संविधान सभामा समानुपातिकबाट सभासद्समेत बनेका तामाङ अर्बपति व्यापारी थिए। तर, अहिले उनको परिचय संगठितरूपमा ठगी गिरोहको नाइके भएर जेलमा बसेको भन्ने छ।

उनी सहकारीका १५ सयभन्दा बढी सदस्यको ५ अर्ब ६७ करोड रुपैयाँ ठगी आरोपमा डिल्लीबजार कारागारमा छन्। उनको दैनिकी अरू कैदीजस्तै छ।
हिँडडुल गर्न र खेल्नका लागि पर्याप्त स्थान नभएपछि उनी बिहान उठेर केहीबेर ‘मर्निङ वाक’ गर्छन्। चिया र खाजा आफैँले खर्च गरेर खान्छन्।

जेलको सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘अपराध गरेपछि कानुनले सानो, ठूलो भन्दैन, कानुनको आँखामा सबैलाई बराबर । अहिले उनको जीवन अन्यको भन्दा धेरै फरक छैन। आफन्त भेट्न आउँदा भेटघाट गर्ने, अध्ययन गर्ने, खेल्ने मै उहाँको दिन बित्छ।’’

इच्छाराजकी पत्नी सिर्जना शाक्य पनि जेलमै छिन्। तर, उनलाई भने फरक कारागारमा राखिएको छ। सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन सिर्जना शाक्यको संलग्नता भएको ठहर गरी जेल चलानको आदेश दिइएको थियो। उनलाई भने केन्द्रीय कारागार सुन्धारामा महिलालाई राख्ने ठाउँमा राखिएको छ। उनको जीवनशैली अरू कैदी बन्दीकै जस्तै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved