पेरिस । हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिक रहेको जानकारी प्राप्त भएको छ ।
सम्बन्धित देशका दूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० छ ।
यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् । मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको छ ।
गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
शनिबारसम्मको अपडेट अनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ ।
आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक दर्जनभन्दा बढी अमेरिकी अपहरणमा परेको विश्वास गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् ।
त्यस्तै,थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिएका छन् । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ ।
थाइल्याण्डको सरकारी तथ्याङ्कअनुसार इजरायलमा लगभग ३० हजार थाई नागरिक छन्, जसमध्ये अधिकांश कृषि क्षेत्रमा कार्यरत छन् ।
फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । यसअघि, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार बालबालिकासहित १७ जना बेपत्ता भएको जानकारी गराएका थिए ।
तेल अविवस्थित नेपाली दूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको छ । एक जनालाई बन्धक बनाएर लगेको पुष्टि नेपाली विद्यार्थीले नै गरेका छन् ।
उक्त आक्रमणमा सात अर्जेन्टिनी नागरिकको मृत्यु भएको थियो भने अन्य १५ जना सम्पर्कमा आएका छैनन् । उनीहरुलाई बन्धक बनाइएको हुनसक्ने विश्वास गरिएको छ । अर्जेन्टिनाको विदेश मन्त्रालयले सात जनाको मृत्यु भएको र अन्य १५ जना हराइरहेको पुष्टि गरेको छ ।
युक्रेनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने अन्य नौ जना हराइरहेका छन् । नौ जना घाइते भएका छन् ।
तेल अविवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ । उसले कुनै पनि बन्धकको बारेमा कुनै जानकारी नभएको तर छ जना रूसी नागरिक हराइरहेको बताएको छ ।
यसैगरी बेलायतका दुई जना नागरिकको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् भने लण्डनस्थित इजरायली दूतावासले बुधबार थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । बीबीसीले बालबालिकासहित १७ जना बेलायतीको हताहत (मृत्यु भएको वा बेपत्ता) भएको जनाएको छ ।
अन्य मृत्यु हुनेमा चिलीकी एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिकको मृत्यु भएको, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन तीन जनाको मृत्यु भएको सम्बन्धित देशका विदेश मन्त्रालय वा दूतावासले पुष्टि गरेका छन् । ती देशका पनि केही नागरिक आक्रमणपछि कसैको सम्पर्कमा आउन सकेका छैनन् ।
सिन्ह्रा
Facebook Comment
Comment