गैरीगाउँ सामूहिक हत्या प्रकरण

यस्तो छ चार जनाको हत्याका अभियुक्त सञ्जय भण्डारीको बयान

नेपालभ्युज

यस्तो छ चार जनाको हत्याका अभियुक्त सञ्जय भण्डारीको बयान
अभियुक्त संञ्जय र उनले बयानका क्रममा बताएको घटनास्थल

काठमाडौं। तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्यामा संलग्न भनिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीले आफू निर्दयी भएकाले कसैप्रति दयामाया नलागेर हत्या गरेको स्विकारी बयान दिएका छन्।

जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई ठक्कर दिएर मोटरसाइकल भागेको रिसमा धेरैपछि बदला लिएको बताएका हुन्। एक जनाको हत्या गर्न जाँदा अन्यले थाहा पाएर देख्ने जति सबैको हत्या गरेको बयान दिएका छन् ।

२९ भदौ साँझ तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या भएको थियो। घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

अभियुक्त सञ्जय भण्डारीको बयानको केही अंश

२०७९ कार्तिकतिर काठमाडौँ आई काँडाघारीस्थित कान्छी दिदी भगवती भण्डारीको डेरा कोठामा लगभग ३\४ महिना बसी कम्प्युटर सिकेँ । पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबिसेमा गई बसेकोमा घटनाको दिन काठमाडौँ आई घटना घटाएको हुँ ।

मिति २०८०।०५।२९ गते राति जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित दिव्य सः मिल एन्ड काष्ठ उद्योगमा मैले चार जना व्यक्तिको हत्या गरेको हुँ । मैले हत्या गरेको मृतकहरूको नाम विशाल भन्ने नवीन राई, कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल भन्ने पछि थाहा पाएको हुँ ।

म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एक पटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु । मलाई मोटरसाइकलले ठक्कर दिँदा, मैले ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भइरहेको थियो ।

दुर्घटना पश्चात् मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो । सोही अनुसार मलाई ठक्कर दिई उपचार खर्च नदिई हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ । सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको अवस्थामा देखी मैले निजलाई चिनिहालेँ ।

म निजको पिछा गर्दै जाँदा काठमाडौँ, तीनकुनेस्थित दिव्य सः मिल एन्ड काष्ठ उद्योगभित्र छिरे, त्यसपछि पटकपटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डन्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरूमा बस्ने गरेको निश्चित भई मलाई ठक्कर दिने मोटरसाइकल चालक उक्त काष्ठ उद्योगमा बस्ने गरेको यकिन भयो ।

निजको नाम नवीन राई भन्ने पक्राउ परेपछि थाहा पाएको हुँ । मलाई ठक्कर दिई, हातपात गरी मेरो आत्मसम्मानमा चोट पुर्‍याउने मोटरसाइकल चालक नवीन राई बस्ने स्थान जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तीनकुने स्थितको दिव्य सःमिल एन्ड काष्ठ उद्योग पत्ता लगाइसकेपछि मैले निजलाई मार्न सकिने अवसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबिसेस्थित आफ्नो घरमा गई करिब एक–दुई महिना जति घरमा बसेँ । घटनाको अघिल्लो दिन बेलुका काठमाडौँ गई मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई मार्नु पर्छ भन्ने लाग्यो र भोलि काठमाडौँ गई मार्ने योजना बनाएँ ।

सोही अनुसार घटनाको दिन नवीन राईलाई मार्नको लागि पहिलेदेखि घरमा राखेको खुकुरी, मेरो परिचयपत्रहरू, कपडासमेत झोलामा राखी, लिइ अन्दाजी बिहान ११ बजेतिर बाह्रबिसेस्थित अरनिको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुविधा लिइ भाडा तिरी बस चढी काठमाडौँ हिँडेँ । बेलुका अन्दाजी १६ः०० बजेतिर बसले काठमाडौँ, कोटेश्वर ल्याइपु¥यायो र सोही स्थानमा बसबाट उत्रिएँ ।

कोटेश्वरबाट अर्को गाडी चढी चाबहिल गई उत्रिएँ । चाबहिलबाट पैदल हिँड्दै गहनापोखरी हुँदै नक्साल गई मजस्तै बहिरा साथीहरू चित्र बहादुर लामा, मनिष शाह र विवेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरूसँग छुट्टिई पुनः नक्सालबाट पैदल हिँड्दै गहनापोखरी, चाबहिल, एयरपोर्ट हुँदै घटनास्थल तीनकुने गएको हुँ । घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ । खुकुरी राखेको झोला मैले बोकी हिँडेको थिएँ । घटनास्थलमा पुग्दा राति अन्दाजी १९ः०० बजिसकेको थियो ।

घटनास्थल दिव्य सः मिल एन्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोडतर्फ मूल गेट थियो । मूल गेट अगाडि केही चहलपहल देखिन्थ्यो, सो गेटबाट पश्चिम अन्दाजी १०–१५ मिटरको दुरीमा दिव्य सः मिल एन्ड काष्ठ उद्योगको पश्चिम गेटतर्फ जाने बाटो छ, सो बाटोबाट पश्चिमतर्फको गेटमा गएँ । उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्बल उद्योगमा जाने गेट छ, सो गेट बन्द थियो, सो बाटो त्यही अन्त्य भएको थियो ।

अन्यत्र जान आउन सकिने अवस्था थिएन । पश्चिम गेट अगाडिको दुईवटै ठुलो घर पूर्णरुपमा खाली जस्तो सुनसान थियो । त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन । पश्चिम गेट फलामको डन्डीहरू जोडी बनाएको थियो, सोही फलामको डन्डीहरूमा टेकी समाती नाघी, गेटसँगै रहेको दिव्य सः मिल एन्ड काष्ठ उद्योगको एक कोठे कच्ची टहराको घरमा प्रवेश गरेँ ।

घटनास्थलमा जाँदा खुकुरी राखेको झोला बोकी गएको थिएँ, सुरुमा प्रवेश गरेको पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुकुलमात्र लगाएको, चाबी लगाएको थिएन । चुक्कुल खोली सो कोठाभित्र गएँ, कोठामा चुरोट सल्काई सेवन गरेँ ।

लगभग १५ मिनेट जति सोही कोठामा बसेँ । सो कोठाको सामुन्ने अगाडि भुईँ तला समेत दुई तले कच्ची टहरो घर थियो, सो घरको भुईँ तला बन्द र माथिल्लो तलाको ढोका खुला, बत्ती बलिरहेको अवस्थामा थियो । उक्त बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भ¥याङ थियो । सुरुमा प्रवेश गरेको कोठाबाट निस्की सो कोठाको सामुन्नेको टहरो घरमा गई फलामे रेलिङ गोलो भर्याङ चढी बत्ती बलिरहेको माथिल्लो कोठामा गएँ । कोठाको बिचमा बार लगाई दुई वटा कोठा बनाई अफिसको लागि प्रयोग गरेका रहेछन् । कोठामा कोही थिएन ।

केही समय सो कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएकोजस्तो लाग्यो, उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखेँ । उक्त मान्छे पश्चिम गेटतर्फ गई, फर्किइ पूर्वतर्फ गई पुनः फर्किइ आउँदै थिए । आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाइकल चालक नवीन राई रहेछन् । निज नवीन राई म बसेको कोठातर्फ आउन थाले ।

म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ । नवीन राई ढोकामा आइपुग्नासाथै मलाई देखी मेरो गालामाथि टाउकाको भागमा झापड हाने । मैले दुवै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रगताम्मे भई ढले, ढलेपछि पनि मैले टाउकोमा पटकपटक प्रहार गरेँ ।

म¥यो भन्ने यकिन भई निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखेँ । केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०–५५ वर्ष जतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो । कोठाबाट तल झरी निजको पछाडि टाउकोमा जोडले खुकुरीले हानेँ, निज एकै चोटमा ढले, ढले पश्चात् पनि टाउकोमा पटकपटक प्रहार गरेँ ।

मरेको यकिन भएपछि निजको दुवै गोडामा समाती घिसारी टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाएँ । निजको शव लुकाइ आउँदा सोही ठाउँ नजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखेँ ।

निजलाई पनि खुकुरी हानेँ, सुरुमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रो पटक जोडले हान्दा भुईँमा ढली हालिन्, निज महिलाको शव पनि दुई वटा गोडामा समाइ घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लगी लुकाएँ । लगत्तै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुईँतिर हेर्दै आउनु भयो, ती बुढी मान्छेलाई समाती घाँटी रेटी मारी शवलाई घिसारी काठहरू राखेको कुनामा लगी लुकाएँ ।

त्यसपछि यताउता हेरेँ, कसैलाई देखिनँ । लगभग रातिको ९ जति बजिसकेको सुनसान थियो । म थाकिसकेको थिएँ, शवहरू लुकाएको नजिकै चापाकलको धारामा प्लास्टिकको बाल्टी थापिरहेको रहेछ, सो धारा थिची धाराबाट पानी निकाली हात, मुख, खुकुरी धोएँ । पानीको सहायताले मेरो कपडामा लागेको रगत पुछेँ र अफ गरेको मोबाइल अन गरी, मोबाइलको लाइटबाली शरीरको रगत पुछिएको छ, छैन हेरी, यकिन गरी घटनास्थलमा प्रवेश गरी चुरोट खाएको पहिलो कोठामा गई आराम गरेँ ।

लगभग डेढ–दुई घण्टा जति आराम गरेपछि फ्ल्याक्स लाइटहरू आएको जस्तो लाग्यो । घटना सम्बन्धमा थाहा पाइ मानिसहरू जम्मा हुन लागेको जस्तो लागी, खुकुरीसहितको झोला बोकी घटनास्थलमा प्रवेश गरेको गेटबाट, गेटमा जडान गरेका फलामको डन्डीहरूमा समाई टेकी, गेट नाघी बाहिर निस्की, दगुर्दै सडक क्रस गरी तीनकुने हुँदै कोटेश्वरतर्फ भागेको हुँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved