काठमाडौं । भारतीय पूर्वोत्तर राज्य सिक्किममा अक्टोबर ३ को मध्यरातदेखि लगातार र घनघोर वर्षा हुन थाल्यो। त्यसको भोलि र अर्कोदिन अर्थात् अक्टोबर ४ र ५ मा यति भयानक बाढी आयो कि त्यस्तो होला भनेर कसैले कल्पना गरेको थिएन ।
अझ अनौठो कुरा–वर्षायामको बाढीमा नदीको पानी हिउँ जत्तिकै चिसो थियो ।
बाढीले नदीमाथिका १५ वटा पूल भत्कायो र एक हाइड्रोपावर योजनाको बाँध फुटायो । टिष्टाको यो बाढीमा कति मानिस मरे, अहिले पनि वास्तविक तथ्यांक कसैसँग छैन । नदी किनाराका गाउँ बस्ती कतिपय बाढीमा बगेर गए कतिपय क्षतविक्षत भए । २३ जना भारतीय सैनिक पनि मारिए । १ सय भन्दा बढिको मृत्यु भयो वा बेपत्ता भए ।
टिष्टाको यो बाढी सामान्य थिएन् । नत यो भारी वर्षाको कारणले मात्र आएको बाढी थियो । यो बाढीको मुख्य कारण थियो हिमताल फुट्नु । यस अघि सन् १९६७ मा पनि टिष्टामा यस्तै भयानक बाढी आएको थियो, जसमा कम्तीमा १००० मानिस मरेका थिए ।
सिक्किम हिमाली क्षेत्रमा पर्ने राज्य हो । टिष्टा नदीको मुहान पूर्वी हिमालयबाट सुरु हुन्छ । यो नदी ४१४ किमी दक्षिण बगेर ब्रह्मपुत्रमा मिसिन्छ ।
सन् १९६२ मा सेटलाइट इमेजरीले टिष्टाको मुहान क्षेत्रमा एक नयाँ हिमताल पहिचान गरेको थियो । यसलाई लुनार्क भन्न थालियो । सन् १९७७ मा यो १७ हेक्टरमा फैलिएको सानो हिमताल थियो । सन् २००८ मा हिमताल १०० हेक्टरको भइसकेको थियो । यो वर्षको सेप्टेम्बरमा १६७.४ हेक्टरमा फेलिएको थियो अर्थात् हिमताल निरन्तर ठूलो हुँदै गइरहेको थियो ।
हिमालय क्षेत्रमा हिमताल बन्ने, फैलिने र फुट्ने आफ्नै वातावरणीय कारण हुन्छ । हिउँ पग्लिने र ओरालो प्रवाह हुने स्थानमा हिउँको थुप्रो पर्खालजस्तै ठडिदै जाँदा हिमताल बन्न सुरु हुन्छ । तालमा पानी जम्दै र फैलिँदै जान्छ । हिमताल फैलिने प्रक्रिया अन्य तालको भन्दा यसर्थ फरक हुन्छ कि त्यो हिउँको मुनीमुनी छिद्र खोजेर फैलिँदै जान्छ । बाहिरबाट हेर्दा हिउँ जमेको जस्तो देखिने क्षेत्रमा भित्रभित्रै ठूलो र दलदले तालजस्तो भइसकेको हुन्छ ।
सो क्षेत्रमा भारी वर्षा भयो भने तालमा पानीको मात्रा बढ्छ । त्यसको दबाबले हिउँका किनारा बग्न थाल्दछन् । यसरी हिमताल फुट्छ । हिमताल फुट्दा यसले ओगटेको सबै क्षेत्रकै पानी र हिउँ बग्न थाल्दछ । एकाएक नदीको जल सतह कल्पना नै नगरेको तरिकाले बढ्न थाल्दछ ।
टिष्टा मुहान क्षेत्रमा लुनार्क हिमताल फुट्दा नदीमा २० फिटसम्म पानीको सतह बढेको थियो । बाढीको पानी हिउँ जत्तिकै चिसो थियो ।
मध्यरातमा फुटेको हिमताल सोहोरिएर टिष्टा तेस्रो जलविद्युत परियोजनाको बाँधसम्म पुग्यो । बाँध फुट्न २ मिनेट पनि लागेन । यो ठाउँलाई चुङथाङ भनिन्छ । १२०० मेगावाट विजुली उत्पादन गर्ने पावर हाउस पानीले डुब्यो ।
बाढीले सिक्किमका मनगन, गान्तोक, पक्योङ, नम्ची, र पश्चिम बंगालका दार्जिलिङ, जालपाइगुढी, कुचबिहार र कालिङपोङ जिल्लामा ठूलो क्षति पुर्यायो ।
गाउँबस्ती मात्र हैन, नदी किनारका मलिला कृषियोग्य फाँट समेत बर्बाद भए । सिक्किमको राजधानी गान्तोक राष्ट्रिय राजमार्गको सम्पर्कबाटै टुट्यो ।
मर्ने र बेपत्ता हुनेमा सर्वसाधारण मात्र हैन, भारतीय राष्ट्रिय सुरक्षा वलका सैनिक समेत थिए । ७ सिपाही मृत भेटिए । १६ हराई रहेका छन् । केही सिपाहीको लास बंगलादेश पुगेर भेटिएको थियो ।
यसरी हिमताल फुटेर आउने बाढीलाई वातावरण विज्ञानमा ‘ग्लेसियल लेक आउटब्रष्ट फ्लोड’ (जिएलओएफ) प्रभाव भनिन्छ । ‘जिएलओएफ–इफेक्ट’ हिमाली क्षेत्रको एक ठूलो वातावरणीय समस्या बन्दै गएको छ । भारतीय सर्वेक्षण विभागका अनुसार हिमालयको भारतीय क्षेत्रमा मात्र ९५७५ हिमनदी छन् । सन् १९६० यता हिमालयमा हिमताल तथा हिमनदी थपिँदैछन् ।
वास्तविक तथ्यांक नभए पनि हिमालयको नेपाल क्षेत्रमा पनि हिमताल र हिमनदी बन्ने प्रक्रिया तीब्र छ । वातावरणविज्ञले हिमालय क्षेत्रमा विश्व जलवायू परिवर्तनको व्यापक प्रभाव परेको बताउँदै आएका छन् ।
यसपटक टिष्टा नदीमा ठूलो विनाश निम्त्याउने लुनार्क हिमताल समुद्र सतहबाट ५,२०० मिटर उचाईमा थियो ।
सिक्किममा सन् २००० यता नै हिमताल र हिमनदीको सम्भावित जोखिमबारे चर्चा चल्न थालेको थियो । सन् २००८ मा सिक्किम सरकारले यसबारे अध्ययन गर्न एक आयोग नै गठन गरेको थियो । सन् २०१८ मा लुनार्क हिमतालमा पाइप पुर्याएर पानी निकास दिने प्रयत्न गरिएको थियो तर, ती प्रयास पर्याप्त भएनन् ।
‘जिएलओएफ–इफेक्ट’ नेपालका लागि पनि एक ठूलो सम्भाव्य जोखिमको बिषय हो । करिब एक दशक अघि पोखरामा यस प्रकारको बाढीले धनजनको ठूलो क्षति भएको थियो ।
Facebook Comment
Comment