काठमाडौं। आइतबार दिउँसो डोटीको शिखर नगरपालिका–५ चुँडीका ६० वर्षीय घनश्याम फुलारा दाउरा आँगनमै चिरिरहेका थिए। पत्नी लक्ष्मी फुलारा घर धन्दा गर्दैथिइन्। त्यही बेला फोन आउँछ। इजरायलबाट फोन आयो भन्ने सुन्नेबित्तिकै घनश्याम र लक्ष्मी दुवैको अनुहारमा खुसी छरिएर उज्यालो भयो।
२३ वर्षीय राजन फुलारा २४ दिनअघि मात्रै इजरायल गएका थिए। एक्ला छोरा रहेका राजन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर क्याम्पसमा बीएस्सी एजी अध्ययनरत थिए। छोराकै फोनमा पर्खाइमा बसिरहेका बुवा आमाले सँगै बसेर फोन उठाए।
फोनमा बोल्ने राजन थिएनन्। उनका साथी बोले । राजन भने प्यालेस्टाइन विद्रोही समूह हमासले गरेको आक्रमणमा परी सदाका लागि अस्ताएको उनका साथीले खबर दिए।
जब यो खबर राजनकी आमाले सुनिन्, उनी बेहोस भइन्। एक मात्र सहारा यो धर्तीमै नरहेको खबरले त्यही ढलिन्। बुबा घनश्याम पनि कति बेला मुर्छा परिसकेछन्। सबै धमिलो भयो। परदेशमा मृत्युका कथाहरू अरुलाई सामान्य जस्तै भइसके। तर, परिवारलाई कति पीडा अरूको लागि कल्पनाभन्दा बाहिरको कुरा हो।
तीन साताअघि मात्रै फूलमाला लगाएर बिदाइ गरेको मान्छे अब बाकसमा आउँदैछ भन्ने सुनेर छरछिमेकी स्तब्ध भए। तीनदिन भइसक्यो, विचलित आमाबुबा अझै अर्धचेत छन्। अब बगाउन बाँकी आँसु पनि सकिन लागिसक्यो। उनीहरू बेलाबेलामा ब्युँझिन्छन्। ब्युँझेपछि एक मात्र छोरा राजन यो संसारमा नभएको र अब कहिल्यै फर्किँदैन भन्ने नमिठो सत्य पनि याद दिलाउँछ। फेरि ढल्छन्। आमाबुवा उनको मृत्युको खबरले अचेत अवस्थामा छन्।
राजन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका थिए। त्यहाँ प्यालेस्टाइन विद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो निधन भएको रहेछ। आधिकारिक खबर परिवारले भोलिपल्ट मात्र पाए। १७ भदौमा घर गाउँबाट बिदाइ भएका थिए। काठमाडौंबाट आएपछि २६ भदौमा इजरायल उडेका थिए।
पछिल्लोपटक राजनले १८ असोजमा काकासँग फोनमा कुराकानी गरेका थिए। ‘‘यहाँ र पढ्ने र सीप मात्र सिक्ने हो। काम त नेपालमै आएर गर्नुपर्छ’’ भतिज राजनले भनेको कुरा सम्झन्छन् काका केशव ।
यसअघि, राजनले इजरायलको भूगोल, आफूले काम गर्ने क्षेत्र परिवारका सदस्यहरूलाई भिडिओ कलमा देखाइरहन्थे। ‘‘पानी नभएको देश, थोपा सिँचाइले बनेको देशको कृषि भनेर त्यहाँको सिनहरू देखाइरहन्थ्यो। नेपाल आएर आफैँले कृषि गर्नुपर्छ भन्थ्यो। तर, दैवले चुँडेर लग्यो’, काका केशव भन्छन्।
‘अब राजनको भिडिओ कल कहिल्यै आउनेछैन। राजनको मृत्युको खबर सुनेर गाउँका मानिस घरमा आउने जाने गरिरहेका छन्।
गरिब परिवारमा जन्मेका राजन पढाइमा अब्बल थिए । उनी बहुप्रतिभा भएका थिए। सबैसँग मिलनसार, सरसहयोग गर्ने उनको बानी थियो। विदेशभन्दा गाउँमै केही गर्ने योजना सुनाउँथे। १० महिना इजरायल बसेर फर्किएपछि यही केही गर्ने सोच बनाएका थिए।
एक मात्र छोरा पढाइमा अब्बल भएकाले घनश्यामले पनि ऋण कर्जा गरेरै छोरालाई पढाएका थिए। ‘‘म गरिब भए पनि ऋण गरेरै छोरा पढाउँछु। एक मात्र छोरो हो। पछि बुढेसकालको सहारा हो’’ बुबा घनश्यामले भन्ने गर्थे।
राजनको मृत्युको खबरले घनश्यामको परिवार मात्र होइन शिखर नगरपालिकाका पूरै स्तब्ध छ। ‘हाम्रो गाउँले एउटा राम्रो सम्भावना बोकेको युवा गुमायो’ शिखर नगरपालिका ५ का वडाअध्यक्ष डम्बरबहादुर कार्की बताउँछन्।
राजनका छिमेकीहरू उनको ज्युँदो मुख देख्न नपाए पनि शव भए पनि चाँडै ल्याइदिन आग्रह गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।
गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको युद्ध आक्रमणको चपेटामा परे। १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये डोटीको शिखर ५ राजन पनि एक हुन्।
परिवारसँगै शोकमा डुब्यो गाउँ
अध्ययनको सिलसिलामा इजरायल पुगेका राजनको आक्रमणमा परेर मृत्यु भएपछि घर परिवार मात्र नभई पूरै गाउँ नै शोकमा परेको छ। अहिले उनका घरमा भेटघाट गर्न जाने र सान्त्वना दिनेहरूको भिड लागेको छ।
चाडबाड नजिकिँदै गरेको समयमा पढ्न र कमाउन विदेश गएको छोराले अनाहक ज्यान गुमाएपछि घरकालाई मात्रै नभएर छरछिमेक र आफन्त सबैलाई शोक परेको वडाअध्यक्ष डम्बरबहादुर कार्की बताउँछन्।
उनी भन्छन्, ‘‘मान्छे जन्मेपछि मृत्यु निश्चित छ । तर, पढ्न गएको एक्लो छोरोको मृत्यु भएकोमा वृद्ध आमा–बालाई कसरी सम्झाउनु ? गाह्रो हुने रहेछ,’’ उनले भने।
अचेत अवस्थाबाट बेलाबेलामा ब्युँझिने घनश्याम आँखा ओसिलो पारेर आफ्नो छोराको शवलाई जतिसक्दो छिटो ल्याइदिन आग्रह गरेका छन्। उनी भन्छन्, ‘‘बा–आमाको सपना छिट्टै पूरा गर्छु भन्थ्यो। अब कसले भन्ला ? लास नै भए पनि छिट्टै ल्याइदेऊ।’’
Facebook Comment
Comment