चीन जानका लागि प्रवेश पास बनाउन प्रशासनको आग्रह

नेपालभ्युज

चीन जानका लागि प्रवेश पास बनाउन प्रशासनको आग्रह
फाइल तस्वीर

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन जानका लागि प्रवेश पास बनाउन सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ ।  त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ ।

कोरोनाको समयदेखि ठप्प रहेको यस नाका खोल्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला भइसकेको छ । अहिले नाका खुल्नुअघि नै सम्बन्धित व्यक्तिहरूलाई पासको व्यवस्था गर्न लागिएको हो ।

मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई चीन छिर्ने पास दिन लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार पास छापेर लगिसकिएको र मंगलबारदेखि वितरण गरिनेछ । प्रवेश अनुमतिपत्र बनाउन १० रुपैयाँको हुलाक टिकटसहित वडा कार्यालयबाट बसोबास गरिरहेको प्रमाण पुग्ने सिफारिस, नागरिकता, २ प्रति फोटो र यसअघि लिएको पास कार्ड चाहिने प्रशासनले जनाएको छ ।

२०७८ सम्म यहाँका नागरिकका पास रिन्यु हुँदै आएको थियो । तर, नाका खुल्ने छाँटकाँट नभएपछि नवीकरणसमेत रोकियो । नाका नखुल्दा उत्तरी क्षेत्रका नागरिकको दैनिकीमा समस्या हुँदै आएको छ । यसअघि नै गोरखाले समेत बोर्डर पासका लागि प्रक्रिया अघि बढाइसकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिकलाई बोर्डर पास वितरण हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved