काठमाडौं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा १७ नेपाली नागरिकलाई हमासले बन्धक बनाएको बताइएको छ । कयौं नेपाली घाइते भएका छन् ।
शनिबार बिहानदेखि भइरहेको झडपमा विद्यार्थी र कृषि क्षेत्रमा काम गर्ने नेपाली परेका हुन् । बन्धक बनाइएका नेपालीको अवस्थाबारे खुलाइएको छैन । अन्तराष्ट्रिय संचारमाध्यमले नेपाली र इजरायली गरी दर्जनौंलाई हमासका लडाकुले बन्धक बनाएको बताएका छन् ।
भिडन्तका क्रममा १०० इजरायलीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएका छन् ।
प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थलबाट आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणमा परि २ सय भन्दा बढि प्यालेस्टिनीको ज्यान गएको बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका छन् ।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ । एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भिडन्त जारी रहेकाले क्षतिको स्पष्ट विवरण प्राप्त हुन सकेको छैन । तर, पछिल्लो भिडन्त दशकौंयताको ठूलो भएको बताइएको छ ।
Facebook Comment
Comment