राज्यका तीनवटै अंगले संविधान मिचेः पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

नेपालभ्युज

राज्यका तीनवटै अंगले संविधान मिचेः पूर्व महान्यायाधिवक्ता श्रेष्ठ
फाइल फोटो

काठमाडौं । पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताएका छन् । शुक्रवार स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानून व्यवसायी मञ्चको भुमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे । उनले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताए।

पूर्व राष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधान विपरितका कानूनहरु बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गरे ।

‘आमाले परिवारलाई मार्न थालेपछि, बाबाले परिवारलाई मार्न थालेपछि के हुन्छ त्यो मुलुक ? आमाले मार्न सक्छ आफ्नो परिवारलाई ? तर नेपालमा जसले जन्मायो उसले त्यो चिजलाई मार्न थालेको छ । त्यसै कारणले गर्दा समस्या भएको छ’ उनले भने, ‘०४७ सालको संविधान ल्याउने प्रमुख शक्ति कांग्रेस र राजा थियो । कांग्रेसले पनि त्यो संविधान मानेन । राजाले पनि मानेन । जसले जन्माएको त्यसले मानेन भने त्यो गइहाल्छ ।’

उनले भने, ‘०७२ सालको संविधान कसले जन्मायो तिनले मानेका छन् कि छैनन् हेर्नुहोस् । संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्न थाले । देखिराख्नु भएको छ अहिलेको राष्ट्रपतिको बारेमा । हिजोको राष्ट्रपतिको बारेमा देख्नुभयो ।’

नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानून व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताए । उनले कानून व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानूनी प्रवन्ध अनुसार नै भएका बताए ।

उनले कानूनी प्रवन्ध अनुसार न्यायाधीशहरु नियुक्त भएको भएपनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved