बैंकलाई ऋण उठाउनै सकस, दुई महिनामै आठ हजारले बढे कालोसूचीमा पर्नेहरू

कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवाती दुई महिना अर्थात् साउन र भदौमा ८ हजारभन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूची (ब्ल्याक लिस्ट) मा परेका छन् ।

बैंकलाई ऋण उठाउनै सकस, दुई महिनामै आठ हजारले बढे कालोसूचीमा पर्नेहरू

काठमाडौं। देशको अर्थतन्त्रमा मन्दी छाएसँगै पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा संस्थाहरू पनि बढेका छन् । ऋणीहरूले ऋण तिर्न नसक्नु, ऋणको दुरुपयोग गर्नु, व्यापार व्यवसाय चलायमान नहुनु जस्ता कारणहरूले पनि व्यक्ति तथा कम्पनी कालोसूचीमा पर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवाती दुई महिना अर्थात् साउन र भदौमा ८ हजारभन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूची (ब्ल्याक लिस्ट) मा परेका छन् । औसतमा हेर्ने हो भने, दैनिक १४६ व्यक्ति तथा कम्पनी कालोसूचीमा पर्ने गरेको देखिएको छ ।

कालोसूचीमा परेकामध्ये १७० व्यक्ति तथा कम्पनी लघुवित्तको सिफारिसमा कालोसूचीमा परेका छन् भने आठ हजार ५८१ व्यक्ति तथा कम्पनी वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र सहकारीको सिफारिसमा कालोसूचीमा परेका हुन् ।

नयाँ आर्थिक वर्षको पहिलो महिना (साउन) मा ५ हजार २ सय ५३ फर्म तथा व्यक्तिलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । केन्द्रले हालसम्म ६४ हजार ४ सय १४ व्यक्ति तथा कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । गत आर्थिक वर्ष २०७९–८० मा मात्रै ३४ हजार ८१ ऋणी कालोसूचीमा परेका थिए ।

व्यक्तिदेखि निर्माणसँग सम्बन्धित काम गर्ने कन्स्ट्रक्सन, कृषि फर्म, स्टोर, सुपरमार्केटलगायत विभिन्न व्यावसायिक संस्थाहरू पनि कालोसूचीमा समावेश छन् ।

के भन्छन् जानकार ?

विभिन्न जानकार व्यक्तिहरूले कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा पर्नुको प्रमुख कारण आर्थिक मन्दीलाई औलाउँदै आइरहेका छन् । ठूला व्यवसायहरूसँग प्रतिस्पर्धा गर्नका लागि कर्जा लिएकाहरू आर्थिक मन्दीका कारण पलायन हुन बाध्य हुँदा ऋण चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने गरेका छन् ।

त्यस्तै, यही विषयमा आफ्नो धारणा राख्दै निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवक्ता विनोद पन्तले कोरोना महामारीको कारण थलिएको व्यापार व्यवसाय र पछिल्लो समय देखिएको विश्व आर्थिक मन्दीका कारण कालोसूचीमा पर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । प्रतिस्पर्धात्मक व्यवसायका कारण पनि व्यक्ति तथा फर्महरू ब्ल्याक लिस्टमा पर्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘साना कम्पनी तथा व्यवसायीहरू प्रतिस्पर्धामा होमिन्छन्, आफ्नो क्षमतालाई भुलेर ठूला व्यवसायहरूसँग प्रतिस्पर्धा गर्नका लागि कर्जा लिन्छन् अनि कर्जा चुक्ता गर्न सक्दैनन् । त्यसैले पनि ब्ल्याक लिस्टमा पर्नेको सङ्ख्या बढिरहेको छ ।’

कालोसूचीमा पर्नेहरूको अर्को प्रमुख कारणको रूपमा उनले कर्जा प्रवाहमा बिचौलियाको हाबीलाई औँलाएका छन् । उनले भने, ‘कर्जा लिनको लागि बिचौलियाको प्रयोग गर्‍यो अनि ऋण उपलब्ध गराइदिएबापतको कमिसन खाने प्रवृत्तिले पनि कालोसूचीमा पर्नेहरूलाई सघाइरहेको छ ।’

त्यस्तै, कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार कालोसूचीमा पर्नेमा सबैभन्दा धेरै मुद्दा चेक बाउन्सको रहेको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुनुवारले बताएका छन् । उनका अनुसार पछिल्लो समय दैनिक २ सयको हाराहारीमा व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा पर्ने गरेको छ । उनले भने, ‘मुख्यतः कन्स्ट्रक्सन कम्पनीहरू चेक बाउन्सको कारणले कालोसूचीमा पर्दै आइरहेका छन् । बैंकको कर्जा चुक्ता गर्न नसकेका, खातामा पैसा नभई चेक दिएका लगायतका कारणले कर्जा सूचना केन्द्रबाट दैनिक २ सयको हाराहारीमा कालोसूचीमा पर्ने गरेका छन् ।’

उनले कम्पनी तथा व्यक्ति कालोसूचीमा पर्ने अवस्थाको सिर्जना हुनुमा देशको सुस्त आर्थिक गतिविधि रहेको कुरामा जोड दिए ।

कालोसूचीमा पर्नेको सङ्ख्या न्यूनीकरण गर्न के गर्नुपर्ला ?

कालोसूचीमा पर्नेहरूको सङ्ख्यामा न्यूनीकरण गर्न नीतिगत सुधारमा ध्यान दिनुपर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवक्ता विनोद पन्तले बताए । भ्रष्ट्राचार नियन्त्रणमा जोड दिनुपर्ने भन्दै उनले कर्जा प्रवाहमा कमिसन परिपाटीलाई उखेल्नुपर्ने बताए । उनले भने, ‘कर्जा प्रवाहमा राष्ट्र बैंकले नीतिगत सुधार ल्याउन जरुरी छ । बिचौलियाको हाबीलाई रोक्न सके मात्र पनि कालोसूचीमा  मा पर्नेको सङ्ख्यामा निकै सुधार ल्याउन सकिन्थ्यो ।’

व्यक्ति स्वयं पनि कर्जा लिने विषयमा संवेदनशील र नीतिवान हुनुपर्ने उनको धारणा छ ।

त्यस्तै, यही विषयमा बोल्दै कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुनुवारले बैंकको कर्जा समयमा नै चुक्ता गर्नुपर्ने र चेक बाउन्सको न्यूनीकरणमा जोड दिनुपर्ने बताए । पछिल्लो समय चेक बाउन्सको कारण कम्पनीहरू धमाधम कालोसूचीमा पर्दै गइरहेको खुलाउँदै चेक बाउन्स सम्बन्धी नियन्त्रणका कदम चाल्न सके कालोसूचीमा पर्नेहरूको सङ्ख्यामा केही हदसम्म सुधार ल्याउन सकिने उनको धारणा छ ।

उनले रकम थोरै रहे पनि चेक बाउन्सको प्रक्रियाले कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परिरहेको जानकारी दिए । उनले भने, ‘२५ सय रुपैयाँको चेक मा पनि चेक बाउन्स भएको छ । हुन त, त्यो पैसा कसैको लागि धेरै होला तर यसले पनि कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् ।’

व्यापार व्यवसायमा छाएको मन्दीले कर्जा लगानी गरेका व्यवसाय संकटमा रहेको उनको बुझाइ छ । उनले व्यापार नहुँदा कर्जा चुक्तामा समस्या देखिएको कारण केही व्यक्ति तथा व्यवसायले कालोसूचीमा पर्नुपरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved