जथाभावी फोहोर फाल्दै हुनुहुन्छ ? होस गर्नुस्, २५ हजार ‘चुना लाग्ला !’

नेपालभ्युज

जथाभावी फोहोर फाल्दै हुनुहुन्छ ? होस गर्नुस्, २५ हजार ‘चुना लाग्ला !’
तस्वीर सौजन्य : काठमाडौं महानगरपालिका

२७ भदौको बिहानै कोटेश्वरमा फोहोर फालिरहेका  १६ जना काठमाडौं महानगर प्रहरीको फन्दामा परे। उनीहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लियो।  सबै जनाबाट ७२ हजार रुपैयाँ जरिवाना तिराइयो। एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना तिराइएको थियो।

त्यसको अघिल्लो दिन (२६ भदौ) राति कोटेश्वरस्थित बालकुमारीतर्फको आकाशेपुलमा केही मानिस फोहोर फालिरहेका थिए। महानगरको अपरेसन त्यतै चल्यो। १७ जना पक्राउ परे। तीबाट महानगरले पचास हजार पाँच सय रुपैयाँ जरिवाना असुल्यो।

६ भदौमा कुलेश्वर फलफूल बजारमा सडकपेटीमा फोहोर गर्ने पाँचजना फलफूल पसलेलाई पाँच हजारका दरले महानगरले जरिवाना तिरायो।

२५ साउनमा बागबजारमा डाइनामिक युनिभर्स कम्पनीले सडकपेटीमा फोहोर फाल्दा महानगरले १० हजार जरिवाना तिराएको थियो।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्, पछिल्लो समय काठमाडौं महानगरले जथाभावी फोहोर फाल्नेलाई बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना तिराइरहेको छ ।

पछिल्लो समय आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न जरिवाना गर्ने प्रावधानलाई कडाइका साथ लागू गरिरहेको महानगरले जनाएको छ।

महानगरले जसको घर अगाडि फोहोर फालिएको छ, उसकै घरमा जरिवाना पत्र पुर्‍याइरहेको छ। जसले फोहोर लिएर आएको छ, उसैलाई नियन्त्रणमा लिएर जरिवाना पत्र दिइरहेको छ। सो जरिवाना पत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले जरिवाना भुक्तानी तिर्नुपर्नेछ।

महानगरका अनुसार जथाभाबी फोहोर फाल्नेसँग जरिवानाबापत मासिक लाखौं रकम संकलन भइहेको छ।

महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा लाखौं रकम रुपैयाँ संकलन गरेको हो।

जथाभावी फोहोर फाल्नेहरूको अनुगमनमा महानगरको टोली नगर प्रहरीसहित जाने गरेको छ। अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। एक दिनमा पाँच जनाको टोली खटिने महानगरका प्रवक्ता वसन्त मानन्धर बताउँछन्।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ।

‘‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका भेटिन्छन्। कतिपयले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर ल्याएर फाल्नुपरेको बताउने गरेका छन्’’ प्रवक्ता मानन्धर भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved