आज हरितालिका तीज, शिव मन्दिरहरूमा बिहानैदेखि भीड

 हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।

नेपालभ्युज

आज हरितालिका तीज, शिव मन्दिरहरूमा बिहानैदेखि भीड

काठमाडौं। आज हरितालिका तीज ।  विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले धुमधामकासाथ मनाउँदैछन्।

हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।

भगवान शिवको पूजा गर्न काठमाडौंको पशुपतिनाथ,भक्पुरको डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् ।

लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज उत्सव मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन् ।

उनका अनुसार आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक मान्यता रहेको छ ।

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।

महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन् ।

यो अर्थमा तीज महिलामैत्री पर्वका रूपमा परिचित छ । पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ ।

यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved