चीनसँग कुनै पनि अपारदर्शी सम्झौता नगर्न प्रचण्डलाई बाबुरामको सुझाव

नेपालभ्युज

चीनसँग कुनै पनि अपारदर्शी सम्झौता नगर्न प्रचण्डलाई बाबुरामको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणका सन्दर्भमा तीनबुँदे सुझाव दिएका छन्।

प्रधानमन्त्रीले आज बिहान बोलाएको छलफलमा ‘विविध कारण’ले सहभागी हुन नसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् सुझाव दिएका हुन्।

उनले चीनसँग पहिले भएका सहमति कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै एसिया नै मुख्य केन्द्र हुने गरी नयाँ शीतयुद्ध (उष्णयुद्ध)को बादल मडारिन लागेको उल्लेख गर्दै भट्टराईले अब सिर्जना हुने अवस्थितिको सामना गर्न नेपालले राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्ने बताएका छन्।

हेर्नुहोस् उनले दिएका सुझाव जस्ताको तस्तै

१. बहुदलीय लोकतन्त्रमा दलहरुबीच अरू विषयमा मत भिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसालौँ। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति र सम्झौता नगरौँ।

२. एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्धको सन्दर्भमा नेपालले आफ्नो विशिष्ठ भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहीरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ !

हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनतारसार्वभौमिकतारभौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ। यो डोरीमाथिको हिंडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो। यसनिम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचार मन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं।

३. तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिउँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved