काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरू अघि बढाइरहेको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे ।
उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए । उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे ।
भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गर्दै जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुँदै गएको तथा नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए ।
आज दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखेर अभियानको प्रारम्भ गर्दैछन् ।
Facebook Comment
Comment