पर्वतमा पहिरोले सात घर विस्थापित, ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत

नेपालभ्युज

पर्वतमा पहिरोले सात घर विस्थापित, ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत
फाइल तस्वीर

पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने ।

उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सातवटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौँ बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौं”, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।

“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पुर्‍याएको क्षति देखाउँदै कार्कीले भने, “अब के खाने, कहाँ गएर बस्ने ?” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको वासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।

पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी, मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँ-ठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।

जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुईवटा वडाको बस्तीलाई ठूलो क्षति पुर्‍याउने देखिएकाले दीर्घकालीन रूपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीनवटै सरकार जुट्न आवश्यक देखिएको बताए ।

पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।

दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पुर्‍याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।

“कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उनले भने । “अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्”, पौडेलले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved