एमसीसीले समाजवादी मोर्चामा तनाव, सहकार्य बिथोलिने विप्लवको चेतावनी

नेपालभ्युज

एमसीसीले समाजवादी मोर्चामा तनाव, सहकार्य बिथोलिने विप्लवको चेतावनी

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनमा आउने भएसँगै समाजवादी मोर्चाभित्र तनाव भएको छ । एमसीसीका कारण सत्ता गठबन्धनभित्रको ‘उपगठबन्धन’का रुपमा रहेको समाजवादी मोर्चामा तनाव उत्पन्न भएको हो ।

तनावकै कारण आज धनगढीमा हुने भनिएको मोर्चाको आमसभासमेत अन्तिम स्थितिमा स्थगित भएको छ । मोर्चाको एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यथास्थितिमा एमसीसी कार्यान्वयनमा आए सहकार्य बिथालिने चेतावनीसमेत दिएका छन् ।

सरकारको नेतृत्व गरिरहेको मोर्चाको एक घटक माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी कार्यान्वयनमा आउने बताएका थिए । तर एमसीसीले व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गरेको भनिएको छ ।

मोर्चाको घोषणापत्रमा राष्ट्रिय स्वाधीनता र समाजवादको निम्ति सहकार्य गर्ने भनिएको र एमसीसी त्यसविरुद्ध भएको निष्कर्ष निकाल्दै नेकपाले सहकार्य बिथोलिने चेतावनी दिएको हो ।

एमसीसीकै कारण मोर्चाको अर्को घटक एकीकृत समाजवादीभित्र पनि तनावै छ । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल यथास्थितिमा एमसीसी कार्यान्वयन हुनै नहुने अडानमा छन् । यसबारे जसपाले भने पछिल्लो समय खुलेर कुनै प्रतिक्रिया दिएको छैन ।

समग्रमा एमसीसीले मोर्चाभित्र खटपट आएको प्रष्ट छ । संयुक्तसभा नै स्थगित गर्नुपर्ने गरी बढेको विवादले मोर्चाको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved