स्टार्टअप नेसन सम्मेलन : नयाँ उद्यमीका लागि फाइदाजनक

नेपालभ्युज

स्टार्टअप नेसन सम्मेलन : नयाँ उद्यमीका लागि फाइदाजनक

काठमाडौं। नेपाल स्टार्टअप नेसन सम्मेलन–२०३० मंगलबार सम्पन्न भएको छ । नेपालमै उद्योग स्थापनासँगै व्यापार व्यवसाय गरी आत्मनिर्भर हुन खोजिरहेकालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य महासंघ, विश्वविद्यालय अनुदान आयोग र सरकारको संयुक्त आयोजनामा  दुई दिने सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा उद्यमी, लगानीकर्ता, नेता, नीति निर्मातालगायत स्टार्टअपका आकांक्षीको उल्लेख्य सहभागिता थियो । नेपालमा स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्दै रोजगारीका अवसर सिर्जना गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको सम्मेलन निकै प्रभावकारी भएको सहभागीले बताएका छन् ।

स्टार्टअप नेसनका सेक्रेटरी मोनिका कँडेलका अनुसार स्टार्टअप नेसन– २०३० ले स्थानीयस्तरका प्रतिभा तथा स्रोत साधनलाई प्रयोग गर्दै साना उद्यम सञ्चालनका लागि प्रोत्साहन दिएको छ । सम्मेलनबाट स्टार्टअपको विषयमा नेपाल सरकार, नीति निर्माणकर्तालगायत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।

सम्मेलनमा सहभागी सरस्वती पाण्डेले उद्योग, व्यवसाय गर्नका लागि लगानीकर्ताको खाँचो रहेको बताइन् । उनी भन्छिन्- ‘बिजनेस आइडिया छ, तर लगानी गर्न पैसा छैन, समस्या त्यहाँ छ । बैंकहरूले ऋण प्रवाह गर्दैनन् । गरिहाले पनि महँगो ब्याजदर छ ।’

नेपालमा स्टार्टअप व्यवसायी अन्य देशको तुलनामा निकै कम रहेको बताउँदै सहभागी चेतनाथ महतले यस सम्मेलन मार्फत नवप्रर्वतक उद्यमीलाई निकै प्रोत्साहन हुने बताए । उनले भने, ‘स्टार्टअप उद्यमबाट साउथ एसियाका देश  विकास भइरहँदा हाम्रो देशले त्यहाँको गतिलाई अंगाल्न सकेको छैन । यस सम्मेलनले नेपालका नवप्रवर्तक स्टार्टअप उद्यमीहरूलाई धेरै राम्रो हुने छ ।’

स्टार्टअपमा नीति निर्माणको प्रमुख समस्या रहेको शहीद स्मृति क्याम्पसका प्राध्यापक सागर तिवारीले बताए । समग्रमा स्टार्टअप नेसन-२०३० को सम्मेलन आफूलाई लाभदायक लागेको बताउँदै उनले भने, ‘स्टार्टअप गर्न पहिला व्यक्तिले माइन्डसेट डेभलप गर्नुपर्दछ । त्यसैगरी, यसमा त्रिपक्षीय सम्झौताको आवश्यक्ता पर्दछ ।’

निजी क्षेत्र, सरकारी पक्ष र एकेडेमीहरूबीच समन्वय भए मात्र स्टार्टअपमा समस्या नहुने प्राध्यापक तिवारीले बताए । स्टार्टअपको गुणस्तर र मात्रा वृद्धि गर्न रणनीति, योजना र निर्देशनका लागि नै सम्मेलन आयोजना गरिएको आयोजकले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved