नयाँ नाका खोल्ने विषय मेरो चीन भ्रमणको कार्यसूचीमा छ : प्रधानमन्त्री

नेपालभ्युज

नयाँ नाका खोल्ने विषय मेरो चीन भ्रमणको कार्यसूचीमा छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका हुन् ।

उनले दुई देशका बीचमा रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताए । दुई देशका बीचमा यसअघि भएका सम्झौता र समझदारीहरूलाई कार्यान्वयनमा जोड दिने पनि उनले बताए । त्यस्तै सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्वास्थ्यको क्षेत्रमा रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोगको विस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किंदै गरेको उल्लेख गर्दै २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको बताए । त्यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको बताए ।

त्यसैगरी, विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको जानकारी गराए । उनले वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको स्पष्ट पारे ।

यस्तै, प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान र त्यहाँको जनताको साहसको उच्च प्रशंसा गरे । सो बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले रोल्पाको विकास निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गरे । “विकासमा पछाडि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउन सरकारले महत्त्व दिएको छ”, प्रधानमन्त्री दाहालले भने ।

आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताए । केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले स्पष्टरूपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गरे।

उनले भने- “यदि, अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको त के कुरा ।” दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा सकारात्मक प्रभाव परेको उल्लेख प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताका सन्दर्भमा कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पारे ।

उनले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने बताए । प्रधानमन्त्री दाहालले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने स्पष्ट पारे ।

बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनता आपसी सहकार्य तथा गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता नेपाली मात्रको विशिष्टता नेपाली मात्रको आधारभूत चरित्र भएको बताए । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र सम्वर्द्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुने उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved