ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ :  मन्त्री जुग्जाली

नेपालभ्युज

ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ :  मन्त्री जुग्जाली

पोखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् ।

सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे÷नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे ।

“मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ”, मन्त्री जुग्जालीले भने “जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।”

मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उनले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताए ।

ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उनले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे ।

मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए । २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved