कैलालीको जानकीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

नेपालभ्युज

कैलालीको जानकीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

कैलाली कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ ।

वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् ।

बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादु र न्यौपानेले बताए ।

“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उनले भने, “१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।”

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । “मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भनिन्, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।”

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ ।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए ।

“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved