मुस्ताङको कागबेनीमा बाढीले १० घरसहित निर्माणाधीन पुल बगायो

‘‘१० वटा घर,निर्माणधिन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताए । 

नेपालभ्युज

मुस्ताङको कागबेनीमा बाढीले १० घरसहित निर्माणाधीन पुल बगायो

बेनी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राति १० घरसहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।

गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राति ८ बजे कागखोलाबाट आएको बाढीले घर, सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए ।

उनका अनुसार करिब एकसय घरधुरी रहेको कागबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको छ ।

आइतबार राति ८ बजे भारी वर्षापछि कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो  । उनले भने,‘‘१० वटा घर, निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताए ।

अहिले बिहानै बाढीग्रस्त क्षेत्रतर्फ जनप्रतिनिधि सहितको टोली हिडेको पालिका अध्यक्ष गुरुङले बताए । मानविय क्षति भने हुन पाएको छैन । बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासीहरु भागभाग गरेका थिए ।

मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उनले बताए । मानविय क्षति नभएपनि बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको उनले बताए । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरु उद्दारमा खटिएका छन् ।

बाढीले पोल बगाएको हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । सिँचाईको नहर,गुम्बामा पनि बाढीले क्षति गरेको छ ।

कागबेनीको जनशान्ति माविका शिक्षक मनविर किसानले कागबेनीको पुजास्थल,पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिए । बाढी आएपछि छात्राबासका शिक्षक र विद्यार्थीहरु सुरक्षित ठाउँमा गएर बसेको उनले बताए ।

प्रहरीका अनुसार कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ ।

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपिकृष्ण सुवेदीले दिएको जानकारी अनुसार कागबेनी र जोमसोमको सम्पर्क विच्छेद भएको छ ।

कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत त्रास बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved