निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : अध्यक्ष ढकाल

नेपालभ्युज

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रहसमेत गरे ।

उनले विश्वका अन्य मुलुकहरूमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।

“विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ । हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ । तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ,” उनले भने, “यसलाई नघटाई निर्यात प्रवर्द्धन हुन सक्दैन ।”

ढकालले विश्व बैंकको एउटा प्र्रतिवेदनले कच्चा पदार्थमा भन्सार महशुल छुट, पुँजीगत सबै वस्तुहरूमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे ।

अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागू गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरूको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरि भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए ।

एक अर्को प्रसंगमा अध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको सुधारका लागि लगानीकर्ता र उपभोक्ता दुवैको कन्फिडेन्स बढाउनुपर्नेमा जोड दिए ।

“अहिलेको अवस्थाभन्दा अर्थतन्त्र बिग्रने अवस्था छैन । तर पनि अहिले लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन । यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सकारात्मक पहल लिनुपर्ने देखिन्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved