समाचार टिप्पणी

मदन भण्डारीको ‘बुर्जुवा’ र एमालेको संसद् अवरोध

मदन भण्डारीको ‘बुर्जुवा’ र एमालेको संसद् अवरोध

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले कुनै बेला भन्थे—सदनमा बुर्जुवाहरूले गफ गरिरहन्छन्, हल्ला गरिरहन्छन् । जनताका प्रतिनिधिहरू भने जनताकै कुरा राख्दछन् ।

त्यसो त एमालेले अहिले सदनमा हल्ला गरेको-गर्‍यै छ । साउत १० गतेयता उसले सदन अवरुद्ध गर्दै आएको छ, नाराबाजी गर्दै आएको छ । जसका कारण १० गतेयता बैठक बस्न सकेको छैन । जनताका प्रतिनिधिहरूले जनताकै समस्याबारे सरकारलाई जानकारी दिन पाएका छैनन् ।

सुन प्रकरणको सन्दर्भलाई लिएर लिएर उसले उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । उसको अडान छ— समिति नबनेसम्म सदन खुल्दैन, अवरोध हुन्छ ।

यता सरकार भने समिति बनाउन तयार छैन । उसको तर्क छ— संविधान र कानूनबमोजिम गठित राज्यको आधिकारिक कुनै संस्थाले छानबिन गरिरहेको छ । त्यसैले संसदीय छानबिन समिति चाहिँदैन । त्यस्तो समितिले भइरहेको अनुसन्धानलाई प्रभाव मात्रै पार्छ ।

तर, एमाले आफ्नो मागबाट थोरै पनि ‘ब्याक’ भएको छैन । कुनै पनि हालतमा छानबिन समिति चाहिने उसको एकसूत्रीय माग छ । आइतबार मात्रै पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको सवाल-जवाफको क्रममा अध्यक्ष केपी शर्माले दोहोर्‍याएका छन्— छानबिन समिति नबनेसम्म सदन चल्दैन, निष्पक्ष छानबिन हुनुपर्छ ।

अर्थात् ओलीले फेरि-फेरि पनि सदनमा हल्ला गर्ने, नाराबाजी गर्ने र संसद् अवरुद्ध गर्ने स्व-घोषणा गरे । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको भाषामा यो बुर्जुवा पार्टी, बुर्जवापन हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा नेपाली बृहत् शब्दकोषकाअनुसार बुर्जुवा भनेको ‘अनुदार र परम्परावादी विचार राख्ने, पुँजीपति वा उच्च कुलीन वर्गको’ हो । त्यसो त के एमाले बुर्जुवा हो ?

राजनीनिशास्त्री तथा विश्लेषक डा. लोकराज बराल एमालेलाई बुर्जुवा भन्न मज्जाले मिल्ने बताउँछन् । उनी एमालेलाई अझ ‘अग्ली अपोजिसन’ को संज्ञा दिन्छन् । “एमाले एकदमै एक्स्ट्रिम गइहाल्छ । सानो-सानो विषयलाई लिएर ऊ निकै रिसाउँछ,” बराल भन्छन्, ” त्यसैले मैले अग्ली अपोजिसन भन्ने गरेको छु एमालेलाई । अपोजिसनमा बस्ने पार्टीले संसद् नै चल्न नदिने भन्ने हुन्छ ?”

एमालेसँग कुनै पनि सिद्धान्त वा विचार नभएको बताउँछन् उनी । “एमालेसँग न कुनै विचार, सिद्धान्त छ न केही । तैपनि सानो-सानो कुरालाई लिएर उग्र बन्छ । यो बुर्जुवा र अग्ली अपोजिसनको विशेषता हो । एमालेसँग त्यही विशेषता छ ।”

अरु पार्टीहरू निकै कमजोर बनेका र संयोगले एमाले ठूलोजस्तो देखिएको विश्लेषण गर्दै बरालले भनेका छन्, “जत्ति कराउने सदनमा कराउनु नि, त्यही प्रतिवाद गर्नु नि ! अनि सदन नै चल्न नदिएर कस्तो राजनीति गर्न खोजेको ? कस्तो सरकार खोजेको ? के गर्न खोजेको ? म त केही बुझ्दिनँ ।”

प्रतिनिधिसभामा एमाले संसदीय दलका उपनेतासमेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ भने भने यो मान्न तयार छैनन् । आफूहरू लोकतान्त्रिक व्यवस्था स्थापित गराउने दल भएको उल्लेख गर्दै उनले उनले सोधे, “हामी कहाँबाट बुर्जुवा हुनू ?”

मदन भण्डारीको भनाइअनुसार त तपाईंहरू बुर्जुवा हुनुभयो नि ? भन्ने सन्दर्भमा उनी भन्छन्, “संसद् अवरुद्ध गर्नु भनेको नियमविपरीत हो । तर, अवरुद्ध गर्ने सम्बन्धित दलले यसकारण गरेको भनेर जस्टिफिकेसन दिन सक्नुपर्छ । जुन हामी दिइरहेका छौँ । यो देशमा कुनै न कुनै बेला सबै दलले संसद् अवरुद्ध गरेका छन् पछिल्लो निर्वाचनबाट आएका नयाँ पार्टीहरूबाहेक ।”

आफूहरू देशलाई सुन तस्करीको देश भनेर नभनाउने अभियानमा रहेको नेम्वाङ सुनाउँछन् । “हामी देशलाई सुन तस्करीको देश भनाउन चाहन्नौँ । संसद् अवरुद्ध गर्नु हाम्रो रहर होइन, बाध्यता हो,” नेम्वाङको जस्टिफिकेसन् छ ।

जे होस् झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारीको कुनैबेलाको निष्कर्ष थियो— बहुदलीय जनवाद बुर्जुवाहरूको लाइन हो । बहुदलीय जनवाद मान्ने एमालेको यो कदमलाई स्वाभाविक मान्ने कि अस्वाभाविक ? यसमा बहस होला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved