कैलाली कांग्रेसमा लफडा, सभापतिको काउन्टरमा उपसभापतिको विज्ञप्ति

नेपालभ्युज

कैलाली कांग्रेसमा लफडा, सभापतिको काउन्टरमा उपसभापतिको विज्ञप्ति

धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि अहिले कैलाली कांग्रेसमा विवाद भएको छ । सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन् ।

सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे ‘आगो’ र चुरे गाउँपालिका ६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।

दुवैजनामाथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका थिए । उक्त आरोपमा दुवैजनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सभापतिले जारी गरेको पत्रमा उल्लेख छ ।

त्यसको तीन दिनपछि हिजो उपसभापति भीम बडूवालले छुट्टै विज्ञप्ति जारी गरेका छन् । उनले सभापतिले विधि विपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन् ।

सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन् , ‘यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु । अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन । पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।’

दशरथ चन्द मेडिकल विश्व विद्यालय स्थापनका लागि आन्दोलन गरिरहेका उनीहरूलाई सम्मान गर्नुपर्नेमा पार्टी सभापतिले कारबाही गरेर पार्टीलाई अपमान गरेको उपसभापतिको बिज्ञप्तिमा उल्लेख छ ।

विधिविपरीत कारबाही गरेको भन्दै विवादमा तानिएका पार्टी सभापतिविरुद्ध उपसभापतिले अर्को विज्ञप्ति जारी गरेपछि कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ । पार्टी उपसभापति बडूवाल विधिविपरीत गरिएको कारबाही फिर्ता नभए स्वयम सभापतिलाई नै अनुशासनको कारबाही गर्ने गरि केन्द्रमा उजुरी गर्ने तयारी भइरहेको बताउँछन् ।

त्यस्तै नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जिल्ला सभापतिले कांग्रेसका दुई नेतामाथी गरेको कारबाहीप्रति विरोध जनाएका छन्।

सचिव सुनारले सभापतिको निर्णयमा आफ्नो समर्थन नरहेको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। २०८०, श्रावण २२ गते जिल्ला सभापतिलाई भेटेर तपाईंले गर्नु भएको कार्बाहीको निर्णय गतल छ। विधानबमोजिम तपाईंले कार्बाही गर्न पाउनु हुन्न,गर्नुभयो भने मेरो त्यसमा समर्थन हुँदैन भनेर असहमति जनाएको सबैलाई अवगत गराउन चाहन्छु, उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved