गोरखामा एक घरबाट प्रहरीले लगेको चम्किलो ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि

नेपालभ्युज

गोरखामा एक घरबाट प्रहरीले लगेको चम्किलो ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि

काठमाडौं। गोरखामा एक परिवारले वर्षैदेखि पूजा गर्दै आएको चम्किलो ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि भएको छ। गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले सो ढुंगा लगेको थियो।

खानी तथा भूगर्भ विभागबाट गएको टोलीले परीक्षणपछि उक्त ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि गरेको हो। टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।

भूगर्भविद्को टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेपछि यस्तो रिर्पाेट निकालेको हो।

उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको छ। यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने भूगर्भविद्हरू बताउँछन्।

खानी तथा भूगर्भ विभागले पुष्टि गरेको पत्र

के हो ‘क्वार्ज क्रिष्टल’ ?

उक्त ‘क्वार्ज क्रिष्टल’ मुख्य रूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ।

घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरूमा पनि आंशिक रूपमा क्वार्ज क्रिष्टलको प्रयोग हुन्छ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गरिएको छ। कडापनका आधारमा उक्त चट्टान ७ औँ नम्बरमा पर्छ। कडापनका आधारमा हिरा भने १० औँ नम्बरमा पर्छ।

खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ।

विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न पाइँदैन। यसो गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved