रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

नेपालभ्युज

रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलवारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए । उनले बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफलमा बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताएका हुन् ।

उनले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । उनले सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए। उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए । उनले नयाँनयाँ प्रविधि र सर्भिसहरु दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए। उनले सर्भर स्तरोन्नती गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैया छुट्याएकाले चाँडै काम थालनी गर्ने बताए ।

‘वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा बाधक सिस्टम छ । हामी सर्भिस दिने कुरामा धेरै अगाडि गयौं । ७५३ स्थानीय तहमा पुग्यौं । अनलाइन प्रणालीमा गयौं । तर हाम्रो सर्भर २०६४ सालको छ । त्यसलाई अपग्रेड गर्नेतिर गएकै छैनौं । अटोमेशनमा काम गर्ने सर्भर पुरानो छ’ उनले भने, ‘हामी नयाँ नयाँ प्रविधिहरु प्रयोग गरिरहेका छौं । नयाँ सर्भिसहरु दिइरहेका छौं । सर्भिस अनुसार सर्भर प्राविधिक रुपमा एड्भान्स हुन सकिएको छैन । अहिलेको अटोमेसन तत्काल लागू हुँदैन । दुई दिनसम्म सर्भर बनाउने काम सकिएको छैन । शतप्रतिशत डेटा ट्रान्सफर भएपछि अलि सहज हुन्छ ।’

सर्भर अपग्रेड गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएको बताउँदै उनले  सम्पूर्ण रुपमा सुधार हुन समय लाग्ने तर अहिलेको समस्या दुई/ तीन दिनमा समाधान हुने बताए । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नती गर्ने लागिएको बताए। उनले स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा सर्भरले धान्न नसक्दा समस्या आएको बताए ।

‘वैदेशिक रोजगारीलाई सहजिकरण गर्ने भनेर स्थानीय तहलाई पनि जिम्मा लगाएका छौं । त्यसले गर्दा सर्भरमा लोडहरु बढेको छ । अहिले प्राविधिक रुपमा अनलाइन एप्लिकेसनमा १२ सय प्रयोगकर्तालाई सर्भरले धान्ने रहेछ’ उनले भने, ‘व्यक्तिगत,स्थानीय तह, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा हिट भएर सर्भर गएको छ,  हामीले १२ सयले चलाउँछन् भन्ने अपेक्षा थिएन । सर्भरको क्षमता पनि बढाउने तयारीमा छौं । केही दिनमा समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन् ।’

उनले अहिले अवरुद्ध भएको अनलाइन प्रणाली केही दिनमा नै समस्या समाधान भएर सुचारु गर्ने तयारीमा मन्त्रालय लागेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved