चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले उठाएर लग्यो

नेपालभ्युज

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले उठाएर लग्यो
सांकेतिक तस्वीर।

झापा। कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्‍याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोस्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए ।

कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुईजना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैं-झगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

“स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो”, प्रहरी नायब उपरीक्षक कार्कीले भने ।

पूजाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनका श्रीमान् चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ । चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमानबीच मादक पदार्थ खाएको विषयमा झैंझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved