पर्वत। पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच बस्ती जोखिममा परेका छन् ।
बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।
पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ ।
पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए । स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।
पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ । पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए।
Facebook Comment
Comment