आलेख

कांग्रेसमा गहिरिँदो संकट र निराकरण

नेपाली कांग्रेसले आफूलाई साँचो अर्थमा पुनर्निर्माण गर्न चाहन्छ भने वैचारिक समूहको निर्माण गरेर गुटहरूलाई परास्त गर्नु आवश्यक छ । गुट निहित स्वार्थका झुण्ड हुने हुँदा यी पार्टी संगठनका परजीवि हुन् । यिनले पार्टी सक्छन् ।

कांग्रेसमा गहिरिँदो संकट र निराकरण

यो लेख लेख्दै गर्दा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम चरणमा पुगेको छ । एक वर्षपछि बसेको बैठकमा आधाभन्दा धेरै सदस्यले बोलिसकेका छन् ।

महामन्त्रीद्वयले पेश गरेका प्रतिवेदन वा वार्षिक कार्यतालिकाले पार्टीको समस्या समाधान गर्ने कुरा पनि भएन । वास्तवमा त्यो कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न पनि पहिले पार्टीका आधारभूत समस्याको पहिचान गर्न जरुरी छ । त्यो नगरेर सदस्यहरू गुटगत सम्बन्धका आधारमा पक्षविपक्षमा बोलिरहेका छन् । केही सदस्यले पार्टी संकटमा होइन सत्तामा छ भनेर अहंकार पनि देखाइरहेका छन् । सदाझैं सबैले गुनासो गर्ने र एक-अर्कालाई दोषारोपण गर्नेभन्दा अन्य कुरा यो बैठकले दिने देखिएन ।

पछिल्लो समय कांग्रेसमा वैचारिक तथा सांगठनिक समस्या गहिरिँदै गएका छन् । पुनर्निर्माण गर्न अझै ढिला गर्ने हो भने यसलाई जनतासमक्ष उभ्याउन गाह्रो हुने परिस्थिति बन्दै गएको छ । अन्य पार्टीमा टुटफुट र विग्रह भएका कारण आजसम्म नेपाली कांग्रेस एक शक्तिका रूपमा देखिन्छ । यद्यपि, यसले आत्मविश्वास भने गुमाइसकेको छ । अर्को कुनै दल राम्रो विकल्प बन्न सक्ने हो भने यो सुस्ताउन सक्ने देखिन्छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विभाजन र प्रतिगमनको परिस्थितिले नेपाली कांग्रेसलाई गठबन्धन बनाएर चुनावमा जाने अवसर मिल्यो । वास्तवमा कांग्रेस चौधौं महाधिवेशन पनि गर्न नसक्ने गरी थलिएको थियो । यही चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा पुनः दर्ता हुनुपर्ने संवैधानिक बाध्यता नै सही यसले कथित ‘नेतृत्वको अधिवेशन’ अर्थात् चुनाव चाँही गर्‍यो । विधान वा विचार-मुद्दामाथि छलफल गरेन । विधान अधिवेशन पछि गर्ने भनियो । विधानले परिकल्पना नगरेको यस्तो सहमतिमा कांग्रेस कसरी पुग्यो ? यसरी उल्टो चलेको कांग्रेसमा चुनिएको नेतृत्व अलमलमा पर्नु स्वाभाविक हो।

उपनिर्वाचनपछि पार्टीमा देखिएको संकटका कारण नेताहरूले आफ्नो गुट निर्माणलाई तीव्रता दिएका छन् । उनीहरूको मानसिकता हतास देखिन्छ । कसरी पार्टी छोड्न लागेका कार्यकर्तालाई रोक्ने हो ? आम कार्यकर्तामा शेरबहादुर देउवाको विकर्षण उच्च विन्दुमा छ । यो परिस्थितिमा कसरी आफू बलियो बन्ने हो ? त्यही प्रयासमा देखिन्छन् । इतिहासमा पनि यस्तो भएको थियो, कांग्रेस सकियो भनिएको थियो । त्यस्तो भएन । त्यस्तो हुँदैन । नआतिनुस् । यस्तै, भन्दै अस्तिको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा कार्यकतालाई भरथेग गर्ने प्रयासमा देखिन्थे । आशा जाग्ने भनेको भविष्यको कुरा गरेर हो । दुःखद कुरा धेरैले आशा गरेका थापाबाट त्यो हुन सकिरहेको छैन ।

असन्तुष्ट केही नेताहरू आजभोलि देश दौडाहामा छन् । उनीहरूले मिडियामा दिएको अभिव्यक्तिका आधारमा केही कुरा भने सिकेको देखिन्छ । जस्तो, नेताहरूको व्यक्तिगत आचरण भ्रष्ट भएको छ । जनतासँग पार्टीको सम्बन्ध टुटेको छ । पार्टी वास्तवमै अफ्ठ्यारो अवस्थामा छ । गुरुराज घिमिरेले एक मञ्चमा उभिएर त्याग गर्नुपर्छ भने तयार छौं भन्दै थिए । तर, अहिले उनीहरूको त्यागभन्दा नेपाली कांग्रेसलाई नेतृत्वको आवश्यकता छ । माथि भनिए जस्तै आशा जगाउने नेतृत्वको।

यी असन्तुष्ट वा पार्टी रूपान्तरण गर्नुपर्दछ भन्ने नेताहरूबीचमा दृष्टिकोणको एकरूपता छैन । के विश्वप्रकाश र गगनले बसेर बीपीको समाजवादका विषयमा  छलफल गर्छन् ? उनीहरूको प्रस्तुतीले त्यो देखिँदैन । गुरुराजले भनेको समाजवाद र गगन थापाले भन्ने गरेको समृद्ध नेपालको अवधारणा उस्तै हो ? वास्तवमा अहिले कांग्रेसलाई यसको स्थापनाकालीन मान्यता र संविधानको मर्मअनुरूप पुन:परिभाषित गर्नुपर्ने समय हो । त्योतर्फ कांग्रेसजनको ध्यान नजाँदा यो पार्टी विचार र व्यावहारबीचको विरोधाभासमा अझै फस्दै त जाने नै छ, त्यसका साथसाथै अहिले यी गुटहरूलाई वैचारिक समूहमा रूपान्तरण गर्न सकिने अवसर पनि गुम्ने खतरा देखिएको छ ।

कांग्रेसमा एकैपटक संकट खनिन सक्ने खतरा छ । सभापति देउवाले अघिल्लो कार्यकालमै विधान अनुसार पार्टी चलाउन सकेका थिएनन् । उनी त्यस असफलताप्रति जवाफदेही नभई पुनः निर्वाचित भएर आए । पहिलेदेखि नेपाली राजनीतिमा भ्रष्टाचारलाई संस्थागत गर्ने ‘पजेरो संस्कार’बाट हुर्किँदै आएका शेरबहादुर देउवा पछिल्लो समय बारम्बार विवादमा तानिएका छन् ।

नागरिक तस्करी गर्ने अपराधमा उनकी श्रीमती आरजु देउवाको नाम जोडिएको छ । सत्ता र शक्तिको दुरुपयोग गरेर कहिलेसम्म ढाकछोप गर्नसक्ने हुन् त्यो निश्चित छैन । देउवा भ्रष्टाचारको आरोप लागेका आफ्नो गुटका नेता तथा पुर्व गृहमन्त्रीलाई पार्टीबाट निलम्बन गर्नभन्दा पार्टीको बैठक नै नबोलाउन उपयुक्त ठानिरहेका थिए ।

नेपालको पुरानो पार्टी जसले देशका सबैजसो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको छ । उक्त पार्टीले अहिले आएर आफ्नो औचित्य सावित गर्न कठिन हुने परिस्थिति बन्नु दुःखदायी हो । वास्तवमा अब नेपाली कांग्रेसले केका लागि राजनीति गर्न चाहन्छ ? सत्ता कै लागि ? के यसले देशका विद्यमान समस्याको पहिचान र विश्लेषण गरेको छ ? यसले जनताले बुझ्ने र महशुस गर्ने के एजेन्डा दिन सकेको छ ? यी प्रश्नको उत्तर निराशाजनक भएको कुरा सबैलाई थाहा छ ।

कांग्रेसले यी प्रश्नहरूको सकारात्मक उत्तर दिनका लागि पहिले आफ्ना समस्या पहिचान गर्न जरुरी छ । कांग्रेसजनलाई लाग्न पनि सक्छ हामीलाई समस्या थाहा छ । फेसबुकबाटै हजारौं हजार सुझाव लिएका छौं । अघिल्लो महिना जिल्ला सभापतिको भेला थियो । उनीहरूले पनि समस्या नै त सुनाएर गए । वास्तवमा यो पार्टीमा अहिले सबैजना समस्या नै भन्ने छन् । केन्द्रीय समिति बैठकमा पनि त्यहि भइरहेको छ । पार्टीको मुख्य समस्या भनेको समस्या थाहा नपाउनु होइन बरु समाधानको उपाय दिने नेतृत्व नहुनु हो ।

यद्यपि, यो पंक्तिकारलाई यत्ति मात्रै हो जस्तो लाग्दैन् । समस्याको सही पहिचान आधा समाधान हो । समस्याको पहिचान यसका प्रभाव हेरेर मात्र हुँदैन । अहिले कांग्रेसका नेता कार्यकताले कुरा गर्ने तिनै प्रभावका बारेमा हो । प्रभावलाई नै उनीहरूले समस्या ठानेका छन् । समाधानका लागि ती प्रभावहरूबीचको समानता तथा अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले विश्लेषण गर्नुपर्दछ । त्यसका लागि पनि सबैभन्दा पहिले ती समस्या विश्लेषण गर्ने दृष्टिकोणका बारेमा प्रष्ट हुनुपर्दछ ।

नेपाली कांग्रेसको पहिलो समस्या हो गुटगत राजनीति । संगठनमा देखिएको यो समस्याले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ । यो पार्टीमा सानाठूला गरी धेरै गुट छन् । शेरबहादुर देउवाको गुटमा धेरै उपगुट पनि छन् । देउवा शक्तिको भागबिलो लगाउन माहिर भएकाले तिनलाई मिलाएर वा भुलाएर राखेका छन् ।

यद्यपि, गुटहरूको चरित्र अत्यन्त तरल हुनेहुँदा कुन नेता कहिले अर्को गुटमा पुग्छ भन्न सकिँदैन । गुटको परिवर्तन उक्त नेताको व्यक्तिगत महत्त्वाकांक्षाका कारण हुने हुँदा अनुमान गर्न उसको निजी स्वार्थको विश्लेषण गर्नुपर्दछ ।

उदाहरणका लागि महाधिवेशनताका बनेको शेखर–गगन गुटलाई हेरौं । त्यो वैचारिक समूह भएको भए उनीहरूबीच एजेण्डामा सहमति हुन्थ्यो । अहिले शेखर देउवासँग नजिक भए रे भन्नै पर्दैनथ्यो । शेखर र गगनबीचमा पारदर्शी तर संगठित काम हुन थाल्थ्यो । त्यसले पार्टीलाई विचारका आधारमा धुव्रीकरण गर्दथ्यो । तर, त्यो भएर । यद्यपि, फेरि शेखर र गगनसँगै उभिन सक्दछन् । कुरा यत्ति हो उनीहरूको व्यक्तिगत महत्त्वाकांक्षाले उचित स्थान पाउनुपर्‍यो ।

पार्टीका धेरै नेता कार्यकर्तालाई गुटको राजनीति स्वभाविक लाग्दछ । गुट नभई पाटी चल्दैन भन्दछन् । तर, गुट भनेको के हो ? यसको निर्माण कसरी हुन्छ ? यसको विशेषता के हो भन्ने हेक्का छैन । कतिपयले खुला सभामा हाम्रो गुटलाई बलियो बनाउनुहोस् । हामी पार्टीलाई रूपान्तरण गर्ने गुट हो भन्दै गरेका पनि सुनिन्छन् । वैचारिक समूह र गुटका बीचमा अन्तर नरहँदा वा वैचारिक समूहहरूको विलोपन हुँदा गुट नै पार्टी सञ्चालनको ‘मोटर’ जस्तो लाग्नु स्वाभाविक पनि हो ।

गुटगत राजनीतिका कयौं दुष्प्रभाव छन् । यसकाकारण पार्टीका सदस्यबीचको सम्बन्ध निकृष्ट बन्दै जान्छ । सबै जना आफ्नो व्यक्तिगत महत्त्वाकांक्षाका कारण राजनीति गरिरहेको हुनाले उनीहरू एक-अर्कालाई शंका गर्दछन् । खुट्टा तान्दछन् । उनीहरूले पार्टीबाहिरभन्दा भित्रको आफ्नो प्रगतिको बाधक देख्दछन् । गुटका सदस्यहरू पार्टीप्रति गम्भीर हुँदैनन् । पार्टी उनीहरूका लागि सत्ताको भर्‍याङ्ग मात्रै बन्दछ ।

यद्यपि, नेपाली कांग्रेसले आफूलाई साँचो अर्थमा पुनर्निर्माण गर्न चाहन्छ भने वैचारिक समूहको निर्माण गरेर गुटहरूलाई परास्त गर्नु आवश्यक छ । गुट नीहित स्वार्थका झुण्ड हुनेहुँदा यी पार्टी संगठनका परजीवि हुन् । यीनले पार्टी सक्छन् । कांग्रेसजनले के बुझ्न जरुरी छ भने देश तथा पार्टीका समस्याको विश्लेषण र समाधानका एजेन्डामा सहमत भै बनेको वैचारिक समूहले मात्रै पार्टीलाई अगाडि बढाउन सक्दछ ।

गुटगत राजनीतिसँगै नेपाली कांग्रेसको अर्को खास समस्या हो पार्टीमा उदाएको शक्तिशाली नयाँ वर्ग । यो वर्ग सबै गुटहरूको साझा परिचय हो । उनको समयमा त्यति प्रभावशाली थिएन, तर बीपीले यो वर्गलाई भुइँफुट्टा भन्दथे । यस वर्गले पार्टीलाई संकटमा पुर्‍याउने छ भन्ने उनको आकलन थियो । अहिले यही वर्ग हो जुन पार्टीको सबै तप्कामा व्याप्त छ ।

कांग्रेसको भुइँफुट्टा वर्गमा भएको रूपान्तरणले यसको संगठनका साथै विचारमा पनि संकट आएको छ । यो भुइँफुट्टा वर्ग नव उदारवादको स्वाभाविक पुनर्उत्पादन वा परिणाम हो । यो अल्छी, ठगी खाने, श्रमसँग नजोडिएको, अपारदर्शी जिवन भएको, सुखसयल चाहने, पैसाका आधारमा सबै कुरा खरिद गर्न खोज्ने वर्ग हो । यसले आफ्नो जिविकाको आधार आश्वासन, झुट, धोकाधडी तथा अन्य गैरकानुनी माध्यम बनाउँदछ ।

भुइँफुट्टा वर्गले कर्मचारीतन्त्रसँगको साँठगाठँ वा सिन्डिकेटलाई पनि आफ्नो आयआर्जनको श्रोत बनाएको छ । राजनीतिक संस्कारको पतनबाट जन्मेको यो वर्गले उदार पुँजीवादी मान्यताको खोल ओढेर नेपाली कांग्रेस चलाइरहेको छ । यदि, कांग्रेसका कार्यकर्ताले यो वर्गका विरुद्ध प्रश्न उठाउन सक्दैनन् भने यो पार्टीको रूपान्तरण कसरी सम्भव होला ? रूपान्तरण भन्नेका अगाडि यो गम्भीर प्रश्न पनि हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved