काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अनिता देवी मन्त्री बन्दैछन् । पार्टीकी सचिवसमेत रहेकी देवीको नाम पार्टीले सिफारिससमेत गरिसकेको छ । धनुषाकी देवी यसअघि पनि मन्त्री बन्ने चर्चा थियो । तर, त्यसबेला पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बनेका थिए ।
“पार्टीले मेरो नाम सिफारिस गरेको छ,” देवी नेपालभ्यूजसँग भनिन् ।
उनकाअनुसार जनमत आइतबार वा सोमबारसम्म सरकारमा सहभागी हुनेछ । “प्रधानमन्त्रीजी अहिले दु:खमा हुनुहुन्छ । त्यो सबैले बुझ्नुपर्छ । त्यो हाम्रो पार्टीले पनि वास्ता गरेको छ । अब प्रधानमन्त्रीजीले चाँडै व्यवस्था गर्नुहोला । उहाँको श्रीमती नबित्नुभएको भए सायद हामी आज या भोलिभित्र सरकारमा सहभागी हुने थियौँ । तैपनि आइतबार वा सोमबारसम्ममा हामी सरकारमा सहभागी हुनेछौँ,” उनले भनिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनमतलाई चाँडै सरकारमा सहभागी गराउने गृहकार्य गर्दै थिए । तर, मङ्गलबार उनकी जीवनसङ्गिनी सीता दाहाल बितेपछि उनको गृहकार्य ‘पोस्ट्पोन्ड्’ भएको छ । तर, अब चाँडै जनमत सरकारमा आउने उनीनिकट नेताहरू बताउँछन् । उनको दल नेकपा (माओवादी केन्द्र) का एक पदाधिकारी भन्छन्, “उहाँ अहिले ‘मूभ अन’ हुने क्रममा हुनुहुन्छ । अब चाँडै जनमतलाई सरकारमा सहभागी गराउनेलगायतका कामहरू हुन्छ ।”
जनमतलाई दिने मन्त्रालयका बारेमा भने निर्णय भइनसकेको ती पदाधिकारी बताउँछन् । त्यसबारे गठबन्धनले निर्णय गर्ने उनले बताए । “यसबारे गठबन्धनले निर्णय गर्छ । गठबन्धनको बैठक बसेर टुङ्ग्याउँछ,” उनले भने ।
जनमतले भने उद्योग र कृषिमध्ये एक हुनुपर्ने माग गरेको छ । तर, अहिलेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने स्रोत बताउँछ । “सङ्घीय मामिलामा सहमति भइसकेको छ । त्यसमा दाँयाबाँया नहोला,” स्रोत भन्छ ।
अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकै अमनलाल मोदीसँग छ । मोदीलाई बिदा दिने स्रोतको भनाइ छ । यसअघि माओवादी केन्द्रकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हटाउने भनिएको थियो । तर, त्यसको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड मोदीलाई हटाउने सोचमा पुगेको स्रोतको दाबी छ । किरातीले राम्रो काम गरिरहेको भन्दै नागरिक स्तरबाटै हटाउन नहुने आवाज उठेको थियो ।
Facebook Comment
Comment