सप्तरी । दुर्घटनामा घाइते भएका सप्तरीका प्रा. डा. पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । एनको डेढ महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।
यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको प्राज्ञिक सल्लाहकार थिए । उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्यसमेत थिए ।
ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहेका यादव गत जेठ ३ गते राजविराज नगरपालिका–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।
विराटनगरमा शव परीक्षण पश्चात आजै उनको जन्मस्थान राजविराज नगरपालिका–१३ स्थित बिषहरियामा दाहसंस्कार हुने परिवारले जनाएको छ । रासस
Facebook Comment
Comment