काठमाडौं । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ मुख्यमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ । संघमा जस्तै गठबन्धन रहेको कोशीमा भावी सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । तर यहाँ स्थिति यस्तो छ कि, एमाले र राप्रपाबाहेकका सबै दल मिल्दा पनि बहुमत पुर्याउन कठिन छ ।
शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सकार ढलेसँगै हामीले कोशीका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई ‘अब कसको नेतृत्वमा सरकार बन्छ ? भनेर सोधेका थियौं । उनले भने, ‘अब यहाँ गठबन्धनको सरकार बन्छ । त्यसको नेतृत्व मैले नै गर्छु ।’
यहाँ गठबन्धनभित्रको ठूलो दल कांग्रेस भएकाले आफ्नो दाबी स्वभाविक भएको उनको भनाइ छ । गठबन्धनका केन्द्रीय नेतासँग कुरा मिलाएर आफू नै मुख्यमन्त्री हुने उनको भनाइ छ ।
त्यस्तै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सरकारको नेतृत्वमा आफूले दाबी गर्ने बताएका छन् । ‘यहाँ पनि केन्द्रको जस्तै सरकार बन्छ’, उनले भने, ‘मुख्यमन्त्रीमा हाम्रो पार्टीको सशक्त दाबी रहन्छ ।’
यसरी दुवै दलले नेतृत्वका लागि दाबी गरे पनि नयाँ सरकार बनाउन सजिलो भने छैन । किनकि, एमाले–राप्रपा र गठबन्धनको यहाँ बराबर मत छ । सभामुखबाहेक दुवैतिर ४६–४६ सांसद भएकाले नयाँ मुख्यमन्त्री नियुक्ति हुन गणितीय हिसाबमा अफ्ठेरो छ ।
यस्तो स्थितिमा सभामुखको भूमिका निर्णायक हुने भनिएको छ । कांग्रेस–माओवादीले सभामुखको भोट पाएर आफू मुख्यमन्त्री हुने आश गरिरहेका छन् । तर एमालेले कुनै पनि हालतमा सभामुखले भोट हाल्न नपाउने तर्क गर्दै आइरहेको छ । यदि सभामुखले भोट हाल्न पाएनन् भने कोशीमा अर्को सरकार बन्न सम्भव हुनेछैन । त्यस्तो अवस्थामा मध्यावधि चुनाव हुन सक्नेछ ।
Facebook Comment
Comment