अलमलमा समाजवादी मोर्चा : बैठक बस्नै सकेन, एजेन्डामा झन् अन्योल

सत्तासाझेदार नेपाली कांग्रेसलाई घुक्र्याउने र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई तर्साउने उद्देश्यका साथ निर्माण भएको समाजवादी मोर्चा अलमलमा परेको छ ।

नेपालभ्युज

अलमलमा समाजवादी मोर्चा : बैठक बस्नै सकेन, एजेन्डामा झन् अन्योल

काठमाडौं। सत्तासाझेदार नेपाली कांग्रेसलाई घुर्क्याउने र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई तर्साउने उद्देश्यका साथ निर्माण भएको समाजवादी मोर्चा अलमलमा परेको छ । संसदभित्र र बाहिरका चार दल मिलेर बनेको उक्त मोर्चालाई बैठक बस्नसमेत सकस परिरहेको छ ।

गठन भएको १० दिन बितिसक्दा पनि मोर्चाको बैठक बस्ने वातावरण बनेको छैन । बैठक बस्नै सकस हुने मोर्चाको राजनीतिक औचित्यमाथि त झन् धेरै प्रश्नैप्रश्न छन् । सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्नका लागि मोर्चा बनाएको भनिए पनि ‘मुद्दा के हो ?’ भन्ने कुरामै अन्योल देखिन्छ ।

मोर्चाको कामलाई अघि बढाउन चार सदस्यीय सचिवालय बनाउने भनिएको थियो, त्यो पनि गठन भएको छैन । माओवादी, जसपा, नेकपा एस र नेकपा मिलेर बनेको उक्त गठबन्धनको साझा स्वार्थ के हो ? भन्ने पनि अस्पष्ट छ । अग्रक्रान्तिकारी पल्टने नेत्रविक्रम चन्द विप्लवको नेकपा र जहिले पनि लाभको पछि मात्रै दगुर्ने उपेन्द्र यादवको जसपालाई समटेर प्रचण्डले कस्तो खाले मोर्चा बनाउन लागेका होलान् ? प्रश्न स्वाभाविक छ ।

आ-आफ्नो पार्टी त जोगाउन नसक्ने र पटक-पटक फुट्ने अनि फुटाउनेहरू मिलेर बनेको यो मोर्चाकै आयु माथि पनि शंका छ। कांग्रेस–एमाले मिलेर आफ्नो सरकार ढाल्ने त्रास बढेपछि प्रचण्डले अपनाएको ‘मोर्चा नीति’ खासै सफल हुने देखिन्नँ । नेकपा र एकीकृत समाजवादीलाई माओवादीमा मिसाउन प्रचण्डले यो चाल चालेको हुनसक्ने अनुमान पनि छ । तर यसको मुख्य उद्देश्य, हाललाई सरकारको आयु लम्ब्याउनु नै हो ।

नेपालमा सबैभन्दा धेरै बिक्ने नारा नै समाजवादको भइसक्यो । त्यसैले, जसले पनि नाममा समाजवादको फुर्को जोड्ने चलन छ । तर, यहाँका कुनै पनि राजनीतिक दलका नीति तथा कार्यक्रम र सरकारका कदम समाजवाद उन्मुख छ्रैनन् । अझ पछिल्लो समय झन्पछि झन् खिइँदै गएका प्रचण्डको नेतृत्वमा जस्तो मोर्चा बने पनि नागरिकले पत्याउनेवाला छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved