वाग्नरको विद्रोहपछि पुटिनमाथि आइलागेका चुनौती, रुसमा उनको पकड खुस्किएकै हो ?
रोस्तोव शहरका केही क्षेत्रमा वागनर समूहलाई आम नागरिकले गरेको सहयोग पुटिनका लागि झन गम्भीर छ । प्रिगोजिन विद्रोहबाट पछि हटे पनि राष्ट्रपति पुटिनसँगको उनको सम्बन्ध भने सधैका लागि परिवर्तन भएको छ । यसअघि उनीहरु निकै नजिकका साथी मानिन्थे ।
नेपालभ्युज
काठमाडौं । निजी क्षेत्रको सेना वाग्नर समूह विद्रोहबाट पछि हटेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तामाथिको खतरा तत्कालका लागि टरेको छ। वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनले राजधानी मस्कोतिर हिँडेका आफ्ना सैनिक फर्काउने घोषणा गरिसकेका छन् । त्यसअघि, वाग्नर सेनाले दक्षिणका दुई शहर कब्जा गरेका थिए । सहमतिअनुसार प्रिगोजिन अब बेलारुसमा रहनेछन् र उनीमाथि कुनै मुद्दा चल्नेछैन ।
तर, यो नाटकीय र अप्रत्याशित घटनाक्रमले कयौं प्रश्न खडा गरेको छ । विगत केही घण्टा राष्ट्रपति पुटिनका लागि निकै हैरान गर्ने खालका छन् । दुई दशकदेखि अनकन्टक शासन गरिरहेका पुटिनसामु आएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती थियो ।
क्रेमलिन र वाग्नर समूहबीचको सम्झौताका कारण विद्रोह समाप्त भएको छ। वाग्नरका सेना आफ्ना सैन्य अखडामा फर्किइरहेका छन् । उनीहरूमाथि पनि कुनै मुद्दा चल्नेछैन । यो घटनापछि राष्ट्रपति पुटिनलाई भने ठूलो झट्का लागेको छ । उनी अब कसरी मजवुत भएर युक्रेनसँग लड्न सक्लान् भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ ।
भाडाका सैनिकले विना कुनै प्रतिरोध रोस्तोव शहर कब्जा गरेर मास्कोतिर अघि बढ्नुलाई निकै गम्भीररूपमा हेरिएको छ । त्यसमा पनि यत्रो घटनापछि पनि पुटिन यसका मुख्य योजनाकारलाई यत्तिकै छाड्न बाध्य भएका छन् । जबकि, वाग्नरले रुसको सैन्य नेतृत्वलाई उखेलेर फाल्ने प्रयास गरेका थिए ।
वाग्नर समूहको विद्रोह पुटिनका लागि एक निर्णायक र निकै खतरनाक समय थियो । जब उनले यति लामो समय शासन गर्दा आफूलाई अजेय ठान्ने गरेका थिए । उनी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई चिनाउँथे ।
१६ महिना पहिले पुटिनले युक्रेनमा आक्रमण थालेका थिए । उनले रुसलाई सुरक्षित बनाउन युक्रेनमा सैन्य अभियान चलाउनुपरेको तर्क दिएका थिए । तर, अहिले क्रमेलिनमै ड्रोन आक्रमण भइसकेको छ । पश्चिमी रुसमा बमबारीपछि भाडाका सैनिकले सिंगो शहर नै कब्जा गर्ने अवस्थासमेत आएको छ ।
वासिंगटनस्थित थिंक टैंक ‘इन्स्टिच्युट अफ द स्टडी अफ वार’का अनुसार प्रिगोजिनको विद्रोह सकिए पनि रुसको अहिलेको अवस्था एकदमै अस्थिर छ । हतार-हतारमा भएको सम्झौताले तत्कालको संकट टरेको जस्तो देखिएको छ तर, दीर्घकालीन रूपमा पुटिनको सरकार र युक्रेनमा जारी सैन्य अभियानलाई यसले ठूलो नोक्सानी पुर्याएको छ ।
विश्लेषक भन्छन्, “ यो विद्रोहले रूसी सैन्यबलको कमज़ोरी उजागर गरिदिएको छ । साथै आन्तरिक समस्यासँग मुकाबिला गर्न आफ्ना सैनिकको सहीरूपमा प्रयोग गर्न नसक्ने पुटिनको असक्षमता पनि बाहिर आएको छ । यसबाट सैन्य बल माथिको उनको एकाधिकार कम भइरहेको देखिन्छ ।”
रोस्तोव शहरका केही क्षेत्रमा वागनर समूहलाई आम नागरिकले गरेको सहयोग पुटिनका लागि झन गम्भीर छ । प्रिगोजिन विद्रोहबाट पछि हटे पनि राष्ट्रपति पुटिनसँगको उनको सम्बन्ध भने सधैंका लागि परिवर्तन भएको छ । यसअघि, उनीहरू निकै नजिकका साथी मानिन्थे । कैटरिंग क्षेत्रमा आफ्ना कामका लागि एक समय प्रिगोजिनलाई पुटिनको शेफ भनिन्थ्यो ।
रोस्तोव शहरमा वाग्नर सेनाको टैंक
रुसबाहिर पनि पर्न सक्छ असर
प्रिगोजिन र उनका भाडाका सैनिकले पछिल्ला केही वर्षदेखि रुसको विदेश नीतिमा पनि अहम् भूमिका खेलिरहेका थिए । सिरियाका राष्ट्रपति बसर अल असदलाई सहयोग गर्नेदेखि अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्नसमेत वाग्नर समूहले अहम् भूमिका निभाएको थियो।
वाग्नर समूहको सबैभन्दा ठूलो असर अफ्रिकामा देखिएको थियो । मालीमा सन् २०२० र २१ को सैन्य ‘कु’ पछि सेना सत्तामा आयो । यहाँ वाग्नर समूहका लडाकु इस्लामी विद्रोहिविरुद्ध परिचालन भएर लामो लडाइँ लडेका थिए ।
मध्य अफ्रिकी गणतन्त्रमा वाग्नर समूहले राजधानीको सुरक्षामा सरकारलाई सहयोग गरिरहेको छ । यहाँ वाग्नरका लडाकुमाथि व्यापक मानवाधिकार उल्लंघन गरेको आरोप लागिरहेको छ।
रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुख प्रिगोजिन
प्रिगोजिन के गर्लान् ?
अब यस्तो ठानिएको छ कि वाग्नर समूह रुसी सरकारको निशाना बन्न सक्नेछ । यस्तो अवस्थामा अफ्रिका र अन्य देशमा रहेका वाग्नर लडाकुको अवस्था के होला ? थुप्रै प्रश्न उठ्न थालेको छ । मानिन्छ कि, वाग्नर समूहको नियन्त्रणमा ठूलो खनिज संशाधनसमेत छ । त्यसबाटै यसले ठूलो रकम आर्जन गर्ने गरेको छ ।
अब प्रिगोजिनले यस्ता खनिज क्षेत्रमा आफ्नो प्रभाव कायमै राख्न सफल होलान् ? खासगरी, पुटिनसँगको सम्बन्ध खराब भएपछिको अवस्थामा । वाग्नर समूह लामो समयदेखि पुटिनका लागि निकै अहम रहेको थियो ।
सिरियादेखि, क्रिमियासम्म र अहिले युक्रेनको लडाइँमा पनि प्रिगोजिनले पुटिनका लागि जायज-नाजायज सबै काम गरिरहेका थिए । अब उनीसँग क्रेमलिनको के सम्झौता भएको छ भन्ने चासो देखिएको छ । उनी शान्तिसँग रिटायर्ट हुनेछन् या अगाडि फेरि केही गर्नेछन् ? अहिलेसम्म स्पष्ट भइसकेको छैन।
यो सम्झौता बेलारुसको मध्यस्ततामा भएको हो । रुसले युक्रेनमाथि आक्रमणका लागि बेलारुसको जमिन प्रयोग गरिरहेको छ । उ सैन्य अभियानका लागि बेलारुसमा निर्भर छ । यदि, रुसको सत्तामा पुटिन कमजोर भए भने बेलारुसमा लुकांशेकोलाई पनि खतरा हुनेछ । बेलारुस धेरै चिजका लागि रुसमा निर्भर छ ।
Facebook Comment
Comment