काठमाडौं । नेपाली क्रिकेट टोलीले अहिले एकदिवसीय विश्वकप क्वालिफायर खेलिरहेको छ । जिम्बावेमा आयोजित क्वालिफायरको पहिलो खेलमा आयोजकसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको छ ।
यसमा १० वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बावे र अमेरिकासहित वेस्ट इन्डिज र नेदरल्यान्डस् पनि छन् । यी मध्ये दुई टोली टेस्ट मान्यता प्राप्त हुन् भने अन्य टोलीलाई एकदिवसीयको मान्यता छ । दुवै समूहबाट ३-३ वटा टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एक-अर्काबीच हुने खेलपछि तालिकाको माथिल्लो स्थानमा रहने २ टोली भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् । अहिले धेरैको चासो सुपर सिक्समा कुन-कुन टिम पुग्लान् भन्ने देखिन्छ । समूह ‘बी’ मा रहेको टेस्ट मान्यताप्राप्त आयरल्यान्डको कमजोर प्रदर्शनले सुपर सिक्सको प्रतिस्पर्धा रोचक बनेको छ ।
अर्कातिर समूह ‘ए’ बाट नेपाल सुपर सिक्समा पुग्न सक्ला कि नसक्ला भन्ने खुल्दुली नेपाली समर्थकमा देखिन्छ । कस्तो सम्भावना छ नेपालको ? विश्लेषण गरौं ।
नेपालको सम्भावना
समूह चरणमा नेपालसहित सबैले एक-अर्काविरुद्ध चारवटा खेल खेल्नेछन् । नेपालका अब दुई खेल बाँकी छन् । त्यसमध्ये वेस्ट इन्डिजसँग बिहीबार र नेदरल्यान्ड्ससँग शनिबार नेपाल भिड्नेछ । अंक तालिकामा अहिलेसम्म दुवै खेल जितेर आयोजक जिम्बावे ४ अंकसहित शीर्ष स्थानमा छ । एक मात्रै खेल खेलेको वेस्ट इन्डिज २ अंकसहित दोस्रो र २ खेलबाट एक अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल हारेको अमेरिका चौथो र एक खेल हारेको नेदरल्यान्ड्स पाँचौं स्थानमा छन् ।
चारमध्ये दुई खेल हारिसकेको अमेरिकाका लागि अब सुपर सिक्स पुग्न निकै कठिन छ । उसले अब जिम्बावे र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । त्यसमध्ये जिम्बावेलाई हराउन निकै गाह्रो छ । नेदरल्यान्ड्सलाई जित्न सके पनि अमेरिकाका लागि सुपर सिक्समा पुग्न पर्याप्त हुनेछैन्।
अहिलेसम्मको प्रदर्शन हेर्दा यो समूहबाट जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्ने लगभग निश्चित छ । तेस्रो टोली को होला भन्नेमा भने अन्योल देखिन्छ । अमेरिकालाई कठिन भइसकेको अवस्थमा अब नेपाल र नेदरल्यान्ड्समध्ये एक टोली सुपर सिक्समा पुग्नेछ ।
बिहीबार टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध जित निकाल्न नेपाली टोलीलाई सहज छैन । तर, क्रिकेटमा जे पनि हुन सक्छ । यदि, नेपालले वेस्ट इन्डिजलाई हराउन सके सुपर सिक्सको बाटो बिहीबार नै खुल्नेछ । नसके पनि नेपालको सम्भावना भने कायमै रहनेछ ।
त्यसपछि नेपालका लागि नेदरल्यान्ड्ससँगको खेल निकै महत्वपूर्ण हुनेछ । शनिबार नेदरल्यान्ड्सलाई हराउन सके नेपाल सुपर सिक्स पुग्ने लगभग निश्चित हुनेछ । किनकी नेपालको नेट रनरेट पनि अमेरिका र नेदरल्यान्ड्सको भन्दा राम्रो छ ।
नेपाल एक खेल जितेर पनि सुपर सिक्स पुग्न सक्छ ?
नेपालले बाँकी दुवै खेल हार्यो भने के होला ? के त्यस्तो अवस्थामा पनि सुपर सिक्स पुग्ने सम्भावना हुन्छ त ? यसको उत्तर हो – त्यस्तो पनि हुन सक्छ तर, त्यसका लागि अरु समीकरण भने मिल्नुपर्छ । यसका लागि सबैभन्दा ठूलो शर्त भनेको वेस्ट इन्डिज र अमेरिकाले नेदरल्यान्डसलाई हराउनुपर्नेछ । अमेरिका पनि जिम्बाेवेसँग हार्नुपर्नेछ ।
ठूलै उलटपुलट नभए वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई र जिम्बावेले अमेरिकालाई हराउने निश्चित जस्तै छ । बिहीबार अमेरिकाले नेदरल्यान्ड्सलाई हराइदियो भने नेपालका लागि सम्भावनाको अर्को ढोका पनि खुल्नेछ । यस्तोमा नेपाल, अमेरिका र नेदरल्यान्ड्सको समान २-२ अंक हुनेछ । त्यसपछि नेट रनरेटका आधारमा सुपर सिक्स पुग्ने तेस्रो टोलीको छिनोफानो हुनेछ ।
नेपालले अबका दुवै खेलमा सामान्य अन्तरको पराजय व्यहोर्यो भने पनि सुपर सिक्स पुग्न सक्नेछ । अहिलेसम्म अमेरिका र नेदरल्यान्ड्स दुवैको रनरेट माइनसमा छ । थप एक-एक खेलमा हुने पराजयले त्यो अझै तल झर्नेछ भने अर्को खेलको जितले केही माथि आउनेछ । तर, नेपाल विशेषगरी वेस्ट इन्डिजसँग फराकिलो अन्तरले हार्यो भने यो सम्भावना सकिनेछ ।

यसरी हेर्दा अहिलेकै अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बाटो निकै जोखिमपूर्ण छ । त्यसमा पनि अमेरिकाले नेदरल्यान्डसलाई हराउन नसके बिहीबारदेखि नै यो सम्भावना सकिनेछ । त्यसैले, अब नेपालको उद्देश्य बाँकी दुईमध्ये कम्तिमा नेदरल्यान्ड्सलाई हराउने नै हुनुपर्नेछ । शनिबार नेदरल्यान्ड्सविरुद्ध जित निकाल्न सके नेपाल सहजरूपमा सुपर सिक्समा पुग्नेछ ।
सुपर सिक्समा पुग्न सके नेपाली खेलाडीले श्रीलंकाजस्ता टिमसँग पनि प्रतिस्पर्धाको मौका पाउनेछन् । समूह ‘बी’ बाट श्रीलंका सुपर सिक्समा पुग्ने लगभग निश्चित नै छ ।
Facebook Comment
Comment