उल्टो झन्डा फहराएका रविले मागेनन् माफी, नियतवश नभएको भन्दै पन्छिए

यसबारे बोल्न नचाहेका रविलाई चितवनमा एक पत्रकारले प्रश्न सोधेको र उनको जवाफ सञ्जालमा भेटिन्छ। त्यहाँ उनी शुभचिन्तकलाई दोष दिएर उम्किन खोजेका छन्।

नेपालभ्युज

उल्टो झन्डा फहराएका रविले मागेनन् माफी, नियतवश नभएको भन्दै पन्छिए

काठमाडौं। अरूको सानो गल्तीमा चिच्याएर र संविधान बढेर सातो लिएका रवि लामिछानेले आफूले गल्ती गरेपछि भने नियतवश हैन भन्दै पन्छिएका छन्। उल्टो झन्डा फहराएको विषयमा सामाजिक सञ्जालमा भाइरल एउटा भिडिओप्रति प्रतिक्रिया दिँदै रास्वपाका सभापति समेत रहेका रविले नियतवश नभएको भन्दै पन्छिए।

२ असारमा काठमाडौँको टोखा नगरपालिका भोरस्थित पार्टीको प्रथम स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा उनले चन्द्र सूर्यअंकित झन्डालाई उल्टो पारेर फहराएका थिए।

कार्यक्रम पार्टीको बागमती प्रदेश समितिद्वारा आयोजित थियो। त्यहाँ फहराएको झन्डा उल्टो भएपछि उनको चर्को आलोचना भइरहेको छ। सँगै पहिला टेलिभिजन कार्यक्रममा कसैले झन्डा त्यसैगरी प्रयोग गर्दा रविले संविधान पढेर हप्काएको भिडिओ क्लिप समेत भाइरल गराइएको छ। अरूको गल्तीमा सातो खाने रविले आफूले गल्ती गरेपछि भने माफी समेत मागेनन्।

२ असारमा उल्टो झन्डा फहराएका उनले अहिलेसम्म सार्वजनिक रूपमा यसबारे बोलेका छैनन्। बरु सो कार्यक्रम आयोजक बागमती प्रदेश कार्यालयले सभापतिको उक्त कार्यप्रति क्षमा मागेको छ। मंगबार (आज) एक विज्ञप्ति जारी गर्दै पार्टी प्रदेश कार्यालयले लेखेको छ–सभापतिज्यूबाट फहराइएको राष्ट्रिय झन्डा भुलवश उल्टो पर्न गएकोमा बागमती प्रदेश समिति विशेष क्षमायाचना प्रकट गर्दछौँ।’

२ असारमा काठमाडौँको टोखामा एक कार्यक्रममा झन्डा उल्टो पारेर फहराउँदै रवि लामिछाने

पार्टीले विभिन्न औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा पूर्ण रूपमा सजग र सतर्क रहन प्रेरित गर्ने सम्पूर्ण शुभेच्छुक, सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडियाहरूलाई विशेष धन्यवाद दिँदै सभापतिको त्रुटि भुलवश भएको र पुनः नदोहोरिन सचेत रहेको प्रतिबद्धता पनि जाहेर गरेको छ।

यसबारे बोल्न नचाहेका रविलाई चितवनमा एक पत्रकारले प्रश्न सोधेको र उनको जवाफ सञ्जालमा भेटिन्छ। त्यहाँ उनी शुभचिन्तकलाई दोष दिएर उम्किन खोजेका छन्।

स्थानीय पत्रकारले सोधेका छन् ‘तपाईँले उल्टो झन्डा फहराइरहेको दृश्य भाइरल भइरहेको छ नि’ ? रविले भनेका छन्, ‘एउटा कार्यक्रममा जाँदाखेरि कोही सर्वसाधारणले, शुभेच्छुक शुभचिन्तकले फहराउँदै ल्याउनुभएको थियो। उहाँले दिनुभयो मैले पनि फहराइहालेँ। त्यो नियतवश होइन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved